GBIME

देउवाको चाहनापछि प्रधानमन्त्रीको ब्रेक, तत्काल मन्त्रिपरिषद पुनर्गठन नहुने

1.44K
shares

काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालै मन्त्रिपरिषद् पुनर्गठन नगर्ने भएका छन् । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालै मन्त्री फिर्ता बोलाउदा आफूलाई समस्या पर्ने भन्दै फिर्ता बोलाउन नचाहेपछि तत्कालै मन्त्रिपरिषद् पुनर्गठन नहुने भएको हो ।

प्रधानमन्त्री प्रचण्ड एकै पटक सबै मन्त्रीहरु बिदा गरेर नयाँ मन्त्रीहरु नियुक्त गर्न चाहान्थे । यसो गर्दा कसैलाई पदबाट हटाएको भन्दे गलत सन्देश नजाने प्रचण्डको बुझाइ थियो । ‘माओवादीकै पनि केही मन्त्रीहरु परिवर्तन गर्नुपर्छ भन्ने कुराहरु आएका छन्’ प्रधानमन्त्री निकट माओवादीका एक नेताले भने, ‘हामीले चाहेको सेटै परिवर्तन हो, जुन तत्कालै नहुने देखियो ।’

नेपाली कांग्रेसका सभापति देउवा निकट एक प्रभावशाली नेताले पनि यसको पुष्टि गरे । बाहिर आएका विषयहरु जेजे भए पनि तत्कालै सबै मन्त्री फिर्ता बोलाउने भनेर कहीकतै छलफल नभएको र निर्णय पनि नहुने उनको भनाइ छ ।

अर्थमन्त्री डा. प्रकाशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई फिर्ता बोलाउने भन्ने विषयमा पनि खुबै चर्चा पाएको थियो । ‘अरु विषय थाहाँ छैन, प्रकाशरण दाइ प्रचण्ड जहिलेसम्म प्रधानमन्त्री हुनुहुन्छ, उहाँ पनि त्यहील्यैसम्म मन्त्री हुनुहुन्छ’ कांग्रेसका ति नेताले भने, ‘अर्थमन्त्रीले केही नराम्रो गरेको भए अलग कुरा हो, राम्रो काम गरिरहेकालाई हटाउने भन्ने कुरै हुदैन नि ।’

उता प्रकाशरणलाई फिर्ता बोलाएर अर्थमन्त्री खान तम्तयार बनेका महामन्त्री गगन थापाको चाहना भने पूरा नहुने देखिएको छ । महामन्त्री थापा प्रधानमन्त्री नै बन्छु भनेर सार्वजनिक रुपमा बोल्दै हिडेका व्यक्ति हुन् । उनी देउवासँग संसदीय दलको नेतामा चुनाव नै लडेका थिए । संसदीय दलको नेताको चुनावमा पछारिए पछि भने अर्थ पाए पनि नछाड्ने दाउँमा थापा छन् ।

देउवा निकट ति नेताका अनुसार अर्थमन्त्री पाए सभापतिसँग केही सम्झौता गर्न पनि थापा तयार छन् । ‘पद भन्ने कुरा सबैलाई चाहिने रहेछ, महामन्त्रीज्यू पनि खुब लागि पर्नु भएको छ’ ति नेता भन्छन्, ‘क्याम्प नै बदल्नु भयो भने अलग कुरा हो, नत्र गगन थापा भन्दा प्रकाश दाइ धेरै माथि हुनुहुन्छ ।’
अहिलेका अर्थमन्त्री महत अर्थमन्त्रीबाट तत्कालै नहट्ने अन्य श्रोतले पनि दावी गरेका छन् ।