Dhulikhel Eco Banner new

वैदेशिक रोजगारीमा जानेको संख्या ४७ लाख, मुख्य गन्तव्य खाडी मुलुक

18.98K
shares

काठमाडौं, ४ पुस । नेपालबाट रोजगारीका लागि विदेश जानेको संख्या ४७ लाख पुगेको छ। यो नेपालबाट श्रम स्वीकृति लिएर विदेश जानेको संख्या हो । यो तथ्यांकमा नेपालको पश्चिमी क्षेत्रबाट भारत जानेहरुको संख्या समावेश छैन् । भारतमा काम गर्न जानेहरुले श्रम स्वीकृति लिनु पर्दैन भने उनीहरुको विवरण पनि सरकारी निकायमा छैन् ।

सरकारी निकायमा दर्ता भएर रोजगारीका लागि विदेश गएकाहरुको तथ्यांक भए पनि उनीहरुमध्ये कति जना नेपाल फर्किए भने तथ्यांक भने कतै पनि पाइदैन । विदेश जानेहरुको तथ्यांक राख्ने सरकारले विदेशबाट फर्केकाहरुको भने कुनै पनि तथ्यांक उपलब्ध गराउन सकेको छैन् ।

सरकारले अन्तराष्ट्रिय आप्रवासन श्रमिक दिवसको अवसरमा विदेशमा रोजगारीका लागि जानेहरुको तथ्यांक सार्वजनिक गर्ने गरेको भए पनि फर्केर आउनेहरुको भने तथ्यांक राख्न सकेको छैन् । यो वर्षको अन्तराष्ट्रिय आप्रवास श्रमिक दिवसको अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्लो १४ वर्षको अवधिमा विदेश जाने नेपालीको संख्या सार्वजनि गरेको छ ।

जसमा सन् २००८/०९ देखि २०२१/२२ सम्ममा श्रम स्वीकृति लिएर विदेश जानेको संख्या सार्वजनिक गरेको छ । तर विदेशबाट आउनेको विवरण भने कतै पनि छैन् । दिवसको अवसरमा सार्वजनिक प्रतिबेदन अनुसार नेपालबाट १४ वर्षको अवधिमा ४७ लाख नेपालीले श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका छन् ।

आप्रवासन दिवसका अवसरमा मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०११ देखि सन् २०२१/२२ सम्ममा १८ लाख नेपाली पुनः श्रम स्वीकृति लिएर विदेशमा कामको खोजिमा गएका छन् । त्यसमध्ये महिला ६ प्रतिशत रहेका छन् भने ९४ प्रतिशत पुरुष रहेका छन् ।

रोजगारीका लागि विदेश जाने महिलाको संख्या सन् २०१९ देखि सन् २०२१/२२ सम्म १० प्रतिशत रहेको तथ्यांकले देखाएको छ । कोभिडको समयमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा निकै गिरावट आएको भए पनि त्यसपछिको समयमा भने निकै बढेको छ । गत आर्थिक वर्षमा नेपालबाट ६ लाख ३० हजार नेपाली रोजगारीका लागि विदेश गएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

पछिल्लो समय नेपालबाट विदेश जानेमध्ये युरोप जानेको संख्यामा पनि वृद्धि भएको देखिएको छ । तर अहिले पनि अधिकांश नेपालीहरु रोजगारीका लागि खाडी मूलुक र मलेसिया जाने गरेको तथ्यांकले देखाएको छ । सन् २०२१/२२ नेपालबाट विदेश जानेमध्ये सबैभन्दा बढी खाडी मुलुक साउदी अरेबिया गएको तथ्यांकले देखाएको छ ।

प्रतिवेदनमा उल्लेख भए अनुसार नेपालबाट रोजगारीका लागि विदेश जाने नेपालीमध्ये सन् २०२१/२२ मा खाडी मुलुकमा जानेको संख्या ५ लाख ५० हजार ७०४ जना रहेको छ । यो नयाँ र पुनः श्रम स्वकृति लिएर जानेको संख्या हो ।

सो अवधिमा करिब २ लाख जना नेपाली रोजगारीको खोजिमा साउदी गएको देखिएको छ । मन्त्रालयको तथ्यांक अनुसार सो अवधिमा १ लाख ८८ हजार ६९१ जनाले श्रम स्वीकृति लिएर साउदी अबर गएको देखाएको छ ।

यो अवधिमा साउदीपछि धेरै श्रमिक जाने देशमा कतार रहेको छ । कतार जाने नेपालीको संख्या १ लाख ८४ हजार ९२६ जना रहेको छ । त्यस्तै युएई १ लाख २२ हजार ६३५ जना, कुवेतमा ३५ हजार ५४१ जना, बहराइनमा १२ हजार ६२ जना र ओमनमा ६ हजार ८४९ जना नेपाली विदेशिएका छन् ।
त्यसैगरी, एक वर्षको अवधिमा नेपालबाट मलेसिया जाने नेपालीको संख्या ३६ हजार ६४४ जना जना रहेको छ ।

त्यस्तै युरोपेलि मुलुक पोल्याण्डमा १८ सय ५५ जना, साइप्रस ४ हजार १८१ जना, माल्टामा १ हजार ९१५ जना, रोमनियामा ७ हजार ४७५ जना, बेलायतमा २ हजार ८१४ जना, क्रोसियामा ५ हजार ३४४ जना, जापानमा ५ हजार ६५६ जना, माल्दिभ्स्मा ३ हजार ८५६ जना र अन्य देशमा ९ हजार ६४५ जनाले श्रम स्वीकृति लिई रोजगारीका लागि गएको देखिएको छ । यो संख्यामा भारतमा रोजगारी गर्न जानेहरु समावेश नभएको मन्त्रालयले जनाएको छ । भारत जानेको तथ्यांक पनि जोड्ने हो भने यो संख्या अझै बढी हुने देखिन्छ ।