Dhulikhel Eco Banner new

‘तारा एयरको विमान दुर्घटना भएको पुष्टि, उद्धारमा भने कठिनाई’

5.99K
shares

काठमाडौं, १५ जेठ । नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कंडेलले तारा एयरलाइन्सको विमान दुर्घटना भएको पुष्टि गरेका छन् । केटीएम भ्वाइससँग कुरा गर्दै प्रवक्ता कँडेलले मुस्ताङको लार्जुङमा विमान दुर्घटना भएको पुष्टि गरेका हुन् ।

पोखराबाट आइतबार बिहान जोमसोमका लागि उडेको तराएयरको ९ एनएईटी कल साईन भएको ट्विनअटर विमान मुस्ताङको लेतेभन्दा माथिको लार्जुङ खोचमा दुर्घटना भएको पुष्टि भए पनि घटना स्थलमा भने जान नसकिएको प्रवक्ता कंडेलले जानकारी दिए ।

विमान दुर्घटना भएको स्थान पहिचान भएको छ । तर हेलिकप्टर अवतरण गर्न नसकेको प्रवक्ता कँडेलले बताएका छन् । तीन पटक प्रयास गरिएको र असफल भएकाले अहिले स्थलमार्गबाट सुरक्षाकर्मीलाई त्यसतर्फ पठाइएको जानकारी आएको उनले बताए । खराब मौसमका कारण हेलिकप्टर समेत जान नसकेको र अहिले स्थलमार्गबाट सेना सहितको टोली घटनास्थलमा पठाइएको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।

यो विमानमा चालक दलका ३ जना सदस्य र १९ जना यात्रु रहेका थिए । यो विमानमा ६ विदेशी र १६ जना नेपाली रहेको बताइएको छ । विमानमा चालक दलका सदस्यहरु क्याप्टेन प्रभाकर घिमिरे, उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा रहेका थिए । त्यस्तै यात्रुहरु बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले र मेइक ग्रीटग्राफ रहेका थिए ।

त्यस्तै बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी र वी विलनर रहेका थिए ।