Dhulikhel Eco Banner new

आज पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस

507
shares

काठमाडौं, १६ कात्तिक। पत्रकारमाथि हुने हत्या, हिंसा, धम्की तथा आक्रमणका घटनामा दण्डहीनता अन्त्य गर्ने उद्देश्यले आज विश्वभर ‘पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस’ मनाइँदैछ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१३ मा नोभेम्बर २ लाई यो दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। पत्रकारमाथि हुने अपराधको अनुसन्धान, दोषीलाई कानुनी कारबाही तथा पीडितलाई न्याय सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो।

यस वर्ष सन् २०२६ को दिवस ‘खतरा बदलिँदै छन्, दण्डहीनता कायमै छ’ भन्ने नारासहित मनाइँदैछ। नयाँ प्रविधि र हतियारका कारण विशेषगरी द्वन्द्वग्रस्त क्षेत्रमा पत्रकारमाथि हुने आक्रमणका स्वरूप परिवर्तन हुँदै गएको विषयलाई यस वर्ष प्राथमिकता दिइएको छ।

पत्रकारले सत्यतथ्य सूचना सम्प्रेषण गर्ने क्रममा विभिन्न किसिमका धम्की, आक्रमण, अपहरण, यातना तथा हत्यासम्मका जोखिम सामना गर्नुपरेको छ। यस्ता घटनामा दोषीमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने र स्वतन्त्र पत्रकारितामाथि गम्भीर असर पर्ने गरेको छ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) का अनुसार सन् २००६ देखि २०२५ सम्म विश्वभर एक हजार ६०० भन्दा बढी पत्रकारको हत्या भएको छ। तीमध्ये करिब सातमध्ये छ घटनामा अझै न्यायिक निरुपण हुन सकेको छैन।

संयुक्त राष्ट्रसंघले पत्रकारमाथि हुने सबै प्रकारका आक्रमणको निष्पक्ष अनुसन्धान, दोषीलाई कानुनी दायरामा ल्याउन तथा पत्रकारले स्वतन्त्र र सुरक्षित रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारहरूलाई आग्रह गर्दै आएको छ।