Dhulikhel Eco Banner new

शेयर बजारमा दोहोरो दबाब, नेप्से ३२ अंक घट्दा कारोबार ७ अर्बमा सीमित

520
shares

काठमाडौं, १६ कात्तिक। साताको पहिलो कारोबार दिन सोमबार शेयर बजारमा गिरावट आएको छ। अघिल्लो कारोबार दिन शुक्रबार करेक्सन भएको नेप्सेले सोमबार पनि सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक ३२.६५ अंकले घटेर २ हजार ६५७.५० विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ५.९३ अंक, फ्लोट इण्डेक्स २.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९८ अंकले घटेका छन्।

नेप्सेसँगै कारोबार रकममा समेत कमी आएको छ। गत शुक्रबार ८ अर्ब ८९ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा सोमबार ३४३ स्टकको ७० हजार २२८ पटकको कारोबारमा ७ अर्ब १८ करोड ३७ लाख १३ हजार रुपैयाँबराबरको १ करोड ९८ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बेनी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढ्यो

सोमबार बेनी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १३.५८ प्रतिशतले वृद्धि भएको छ। १३ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको मकर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य पनि साढे ८ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै, मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतले उकालो लागेको छ।

यस दिन कारोबारमा आएको सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य भने करिब ५ प्रतिशतले घटेको छ।

घलेम्दी हाइड्रोको सबैभन्दा धेरै कारोबार

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको सोमबार ३७ करोड ६३ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ।

त्यस्तै, ग्लोबल आइएमई बैंकको करिब साढे २९ करोड रुपैयाँ र कुमारी बैंकको करिब २८ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

सबै उपसमूहका परिसूचक राताम्मे

सोमबार कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचक घटेका छन्। तीमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशतले ओरालो लागेको छ।

त्यस्तै, बैंकिङ, वित्त, जलविद्युत्, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहका परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन्।