निःशुल्क एआई तालिममा २४ घण्टामै ४२ हजारभन्दा बढीको आवेदन, आवेदन प्रक्रिया पुनः खुला
वि.सं.२०८३ कात्तिक १६ सोमवार १४:३०
shares

काठमाडौं, १६ कात्तिक। सरकारले सञ्चालन गर्न लागेको निःशुल्क एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रम्प्ट इन्जिनियरिङ तालिममा सहभागी हुन २४ घण्टाभित्रै ४२ हजारभन्दा बढी युवाले आवेदन दिएका छन्। २ हजार जनालाई मात्रै सहभागी गराउने लक्ष्यसहित सञ्चालन गर्न लागिएको तालिममा अपेक्षाभन्दा धेरै आवेदन परेपछि आवेदन प्रक्रिया प्रभावित भएको छ।
आवेदनका लागि प्रयोग गरिएको गुगलको फारमले सेवा सर्त उल्लंघन गरेको भन्दै गुगलले आवेदन फारम निलम्बन गरेपछि प्रक्रिया रोकिएको थियो।
फारम निलम्बन भएपछि राष्ट्रिय व्यावसायिक तालिम प्रतिष्ठानले सोमबार (कार्तिक १६) देखि आफ्नो आधिकारिक वेबसाइटमार्फत पुनः आवेदन खुला गरेको छ।
प्रतिष्ठानले यसअघि आवेदन दिएका आवेदकहरूको विवरण सुरक्षित रहेको स्पष्ट पारेको छ। यसअघि नै सफलतापूर्वक आवेदन दर्ता गराइसकेका उम्मेदवारले पुनः आवेदन दिनु नपर्ने प्रतिष्ठानले जनाएको छ।
तालिमका लागि छनोट हुने उम्मेदवारलाई एसएमएसमार्फत जानकारी गराइनेछ।
सीमित सहभागितामा सञ्चालन गर्न लागिएको निःशुल्क एआई प्रम्प्ट इन्जिनियरिङ तालिमप्रति छोटो समयमै देखिएको युवाहरूको आकर्षणले नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी सीप र ज्ञान हासिल गर्ने चासो बढ्दै गएको संकेत गरेको छ।



















