GBIME

किरणदेवीले ढुंगामा कुँदेका बुट्टा कहिल्यै कला बन्दैन (भिडियोसहित)

5.6K
shares

काठमाडौं, ५ भदौ । कोटेश्वरबाट जडिबुटी जाने बाटोमा सडक पेटीमा भेटिन्छन्, बिरेन्द्र खगोई र किरणदेवी दम्पत्ती । हातमा सानो घन र छिनो लिएकी किरणदेवी सानो ढुंगामा बुट्टा कुँदिरहेकी छिन् । टाढाबाट हेर्दा लाग्छ, ढुंगामा कुनै आकृति बनाउदैछिन् ।

सग्लो ढुंगामा बुट्टा कुँदेपछि त्यहि ढुंगो कला बनेको उदहारण धेरै छ र त्यस्ता कतिपय बुट्टा कुँदिएका ढुंगा अमुल्य भइदिन्छ । बिगत २० वर्षदेखी त्यहि छिनो र घनको सहायताले हजारौं ढुंगामा कला भरिरहेकी किरणदेवीले भने अहिलेसम्म बुट्टा कुँदेको ढुंगालाई कला बनाउन सकेकी छैनन् । न त महंगोमा बिक्री गर्न नै सकेकी छिन् । चिटिक्क परेको गोलाकार । उनले कुँदेको ढुंगाको स्वरुप पनि कुनै कला भन्दा कम छैन । जब एउटा ढुंगामा बुट्टा कुँदेर भ्याउछिन् । उनले कुँदेको ढुंगा कला हैन सिलौटो बन्छ । त्यहि सिलौटो बेचेर दैनिकी चलाउछिन् ।

दुई दशकदेखी ढुंगामा बुट्टा भरेर सिलौटी बनाउदै आएकी किरणदेवीको कसैप्रति कुनै गुनासो छैन । पुरा साथ दिएका छन् श्रीमान बिरेन्द्र खगोइले ।

नेपाल भारतविच वर्षौदेखी कायम रहेको रोटीबेटी सम्बन्धको प्रभाव बिरेन्द्र र किरणदेवीको जीवनमा पनि प¥यो । भारतिय चेली किरण र नेपाली ठिटो बिरेन्द्रविच लगनगाँठो कसियो ।

दाम्पत्य सम्बन्ध कायम भएसंगै बिरेन्द्र र किरणलाई लाग्यो । बारामै बसेर भविष्य उज्वल नहुन पनि सक्छ । गाउँमा अरु पनि थुप्रै थिए, भविष्य खोज्न भन्दै काठमाडौं जाने । अन्तत बिरेन्द्र र किरणदेवीले पनि त्यहि निधो गरे । नाइटबस चढेर काठमाडौंको यात्रा गर्ने । नयाँ ठाउँ नौलो परिवेश । आफन्त थिएनन् । फेरि पनि काठमाडौंमै बस्नु थियो । जागिर खोज्ने झन्झट गरेनन् । दुवैमा सिप थियो ढुंगामा बुट्टा कुँदने ।

कंक्रिटको शहरमा बस्नेहरुले मिक्सचरमा पिंधेर मसला बनाए पनि सिलौटो पुरै बिर्सिसकेका थिएनन् । जहाँ त्यही पाइदैन थियो । शहरबासीको त्यहि खाँचो पूरा गर्न तम्तयार भए बिरेन्द्र र किरणदेवी ।

काठमाडौंमा सिलौटो बिक्री त हुन्थ्यो, सिलौटाका लागि आवश्यक पर्ने ढुंगा काठमाडौंमा सहज थिएन । बिरेन्द्रलाई कसैले जानकारी दियो । भारतबाट बीरगञ्जमा सिलौटो बनाउन मिल्ने ढुंगा आउछ । त्यसलाई नाइटबस चढाएर काठमाडौं ल्याउन सकिन्छ । बिरेन्द्रले त्यही गरे । भारतमा पाइने ढुंगा बीरगञ्ज हुँदै काठमाडौं ल्याएर बुट्टा कुँदन थाले ।

उनले चिटिक्क बनाएको एक जोडी लोहोरो र सिलौटोको लागत नै १५० रुपैया भन्दा बढी पर्छ । त्यहि सिलौटो बिक्री गरेर जीवन निर्वाह गर्दै आएका बिरेन्द्र दिनमा तीनवटासम्म बिक्री हुने बताउछन् । बिक्री गर्न त्यति सजिलो छैन । बार्गेनिङ गर्नेहरु कहिले काँही त लागत भन्दा पनि कम मुल्य दिन्छन् । किरणदेवी भन्छिन् ‘बार्गेििनङ गर्नेहरु धेरै हुन्छन् नाफा दिए बेच्छौ नत्र बेच्दैनौं ।’

छेउमै बुट्टा कुँदिरहेकी किरणदेबीले कहिले काँही बोहोनी समेत नहुने बताइन् । बोहनी नभएको दिन के गर्नुहुन्छ त ? केटिएम भ्याइसले सोधेको प्रश्नको जवाफ दिँदै किरणदेवी भन्छिन् ‘बोहनी नभएको दिन सापटी मागेर घर चलाउछु ।’

उनीहरुका तीन सन्तान छन् । दुई छोरा सरकारी स्कुलमा पढ्छन् । छोरी सानै छिन् । दिनभरि आमाकै छेउछाउमा बसेर बिताउछिन् ।

प्राय सडकमा बसेर ब्यापार गर्नेहरु पछिल्लो समय महानगरपालिकाको भुमिकाप्रति त्यति खुसी छैनन् । महानगरका कर्मचारीले गरिखान दिएनन् भनेर गुनासो गर्नेहरुको भिडमा उभिएकी किरणदेवी फरक रुपमा प्रस्तुत भइन् ‘काठमाडौं सफा राख्ने कुरा नराम्रो हैन । महानगरप्रति हाम्रो कुनै गुनासो छैन ।’

महानगरको अभियानलाई सफल बनाउनपर्छ भन्ने बिरेन्द्र र किरणदेवी बाटोमा दुइटा मात्रै सिलौटो राखेर बस्छन् । जब कुनै ग्राहक आएर ‘अरु छैन ?’ भनेर सोध्छन् । सडक छेउमै भएको डेरामा लैजान्छन् ।

चारैतीर जस्ताले बारेको टहरो छेउमा पुगेपछि भेटिन्छ थरि थरिका सिलौटो र लोहोरो । चारपाटे ढुंगालाई घनको सहायताले गोलाकार बनाउदै थिए बिरेन्द्र । उनका कान्छा छोरा पवन खगोई त्यहि थिए । स्कुल छुट्टि भएपछि बहिनीसंगै खेल्दै गरेका पवनलाई हामीले सोध्यौ ‘तिमी चाँही ठुलो भएपछि के बन्छौ ?’ एकछिन सोचे जस्तो गरे र पवनले भने ‘आर्मी बन्छु ।’

सडक छेउमा सानो ब्यापार गर्नेहरुका लागि काठमाडौं निकै बिरसिलो लाग्छ । घरबेटीलाई कतिपयले ठुलै समस्याको रुपमा देखाउछन् । बिरेन्द्र र किरणदेवीले घरबेटीका बारेमा पनि गुनासो गरेनन् । ‘हाम्रा घरबेटी निकै राम्रा छन् तीन महिनासम्म भाडा नदिए पनि केही भन्दैनन् ।’

हरेक चुनावमा गाउँ गएर भोट हालेका बिरेन्द्र चुनावका बेला नेताहरुको कुरा सुन्छन् तर, आश गर्दैनन् ।

हामीले कुराकानीको बिट मार्दै गर्दा बिरेन्द्र र पवनले सोधे ‘यो केमा आउछ ?’ हामीले भन्यौ मोबाईलमा आउछ । पवनले जवाफ दिए मोबाइल त छ तर, भिडियो हेर्न मिल्ने छैन । एउटा पुरानो मोडलको टिभीमा डिसहोम जोडेका छन् । साँझ बिहान त्यहि टिभी हेरेर मनोरञ्जन लिने गरेका छन् ।