डेढ महिनापछि टरिगाउँमा जहाज, यात्रुलाई राहत
वि.सं.२०८३ भदौ २६ शुक्रवार ११:५१
shares

काठमाडौं, २६ भदौ । दाङको टरिगाउँ विमानस्थलमा डेढ महिनापछि जहाज अवतरण गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भुसालका अनुसार बिहीबार डेढ महिनापछि विमानस्थलमा जहाज अवतरण गरेको हो।
नेपाल एयरलाइन्सको १९ सिटे जहाजमा बिहीबार काठमाडौंबाट आठ जना र दाङबाट चार यात्रुले सेवा लिएका थिए।
मौसमका कारण अनियमित भएको दाङ–काठमाडौँ हवाईसेवा अब भने नियमित हुने वरिष्ठ अधिकृत भुसालको भनाइ छ।
‘मौसमले सेवा अनियमित थियो, अब नियमित हुन्छ,’ उनले भने।
उनका अनुसार अब हप्तामा आइतबार, मंगलबार, बिहीबार र शुक्रबार गरी चार दिन सेवा प्रदान गरिनेछ।
हाल हवाई भाडा १२ हजार बराबर छ।
हवाई सेवा बिहान ९ बजेदेखि ११ बजेको बीचमा उपलब्ध हुने भुसालले बताए।
टरिगाउँमा हाल ७५० मिटरमात्रै धावनमार्ग छ। जहाँ १९ सिटे जहाजमात्रै बस्न सक्छ। कम क्षमताको जहाज बस्ने र त्यो पनि अनियमित हुने भएकाले यस क्षेत्रका यात्रु नेपालगन्ज वा भैरहवा जानुपर्ने बाध्यता छ।
सो विमानस्थलमा ठूला जहाज बस्नेगरी धावनमार्ग विस्तारका लागि पटकपटक आवाज उठ्दै आएको भए पनि त्यसले सार्थकता पाउन सकेको छैन।
विसं २०११ मा स्थापना भएको विमानस्थल विस्तार हुनसकेको छैन। चालु आर्थिक वर्षमा विमानस्थल स्तरोन्नतिका २५ करोड बजेट विनियोजन भएको छ।
















