Dhulikhel Eco Banner new

सिटिजन्स सन्तुलित योजनामा मागभन्दा २५ प्रतिशत बढी आवेदन

2.96K
shares

काठमाडौं, २१ पुस । सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कोष प्रवर्द्धनमा सञ्चालन हुने सिटिजन्स म्युचुअल फण्डअन्तर्गतको चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’ मा मागभन्दा बढी आवेदन परेको छ।

 १ अर्ब आकारको उक्त योजनाको इकाई बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भई पुस ४ गतेदेखि पुस १८ गतेसम्म सार्वजनिक निष्कासन तथा बिक्री खुला गरिएको थियो। प्रारम्भिक विवरणअनुसार सो अवधिमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट १ अर्ब २५ करोडभन्दा बढी, अर्थात माग गरिएको रकमभन्दा करिब २५ प्रतिशत बढी आवेदन प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेडले जनाएको छ।

यससँगै सिटिजन्स सन्तुलित योजना बढी आवेदन प्राप्त गर्ने म्युचुअल फण्ड योजनामध्ये एक बन्न सफल भएको छ। योजनाप्रति लगानीकर्ताहरूको उल्लेखनीय आकर्षण र सहभागिताले सिटिजन्स क्यापिटल लिमिटेडलाई नेपालको पूँजी बजारमा एक दक्ष, व्यवसायिक तथा विश्वसनीय संस्थाको रूपमा स्थापित गरेको प्रतिबिम्बित भएको कम्पनीको भनाइ छ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटल लिमिटेडमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ। कम्पनीका अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन्।

सिटिजन्स क्यापिटल लिमिटेडले योजना व्यवस्थापक तथा डिपोजिटरी, लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभूति, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, शेयर रजिस्ट्रार सेवा र संस्थागत परामर्श सेवा जस्ता विविध सेवाहरू प्रदान गर्दै आएको छ।

कम्पनीले आगामी दिनहरूमा पारदर्शिता, सुशासन र लगानी जोखिम व्यवस्थापनमा निरन्तर सुधार गर्दै प्रविधिमैत्री तथा लगानीमैत्री सेवामार्फत लगानीकर्तालाई विश्वसनीय र प्रतिस्पर्धी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। साथै, निकट भविष्यमा विभिन्न प्रकृतिका सामूहिक लगानी कोषका नयाँ योजनाहरू सञ्चालन गर्नुका साथै हाल सञ्चालनमा रहेका योजनाहरूबाट उच्च प्रतिफल प्रदान गर्ने लक्ष्यका साथ कार्यरत रहने जनाएको छ।