Dhulikhel Eco Banner new

मंसिर महिनामा वार्षिक उपभोक्ता महँगीदर १.६३ प्रतिशत

5.56K
shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता महगीदर १.६३ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको सोही महिनामा यो ६.०५ प्रतिशत थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगीदर २.०५ प्रतिशत ऋणात्मक देखिएको छ भने गैर–खाद्य तथा सेवा समूहको महँगीदर ३.७५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको महगीदर क्रमशः ९.९९ प्रतिशत र ३.९२ प्रतिशत थियो।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको औसत महँगीदर १.५५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा औसत महँगीदर ४.८९ प्रतिशत थियो।

खाद्य तथा पेय पदार्थ समूहमा, घ्यू तथा तेलको मूल्य ५.५२ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थ ३.५६ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डा २.४४ प्रतिशतले बढेको छ। तरकारी उप–समूहको मूल्य ८.५४ प्रतिशत, मरमसलाको ८.४३ प्रतिशत र दाल तथा गेडागुडीको ५.७९ प्रतिशतले घटेको देखिएको छ।

गैर–खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवा उप–समूहको मूल्य १८.५६ प्रतिशतले वृद्धि भएको छ। शिक्षा ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पल ५.२९ प्रतिशत, सुर्तीजन्य पदार्थ ४।१५ प्रतिशत र मदिराजन्य पेय पदार्थ ३.८५ प्रतिशतले बढेको छ। बीमा तथा वित्तीय सेवा उप–समूहमा भने ०.२३ प्रतिशतले घटेको छ।