Dhulikhel Eco Banner new

फेजाको आयोजनामा धनगढीमा दुई दिने महिला आर्थिक पत्रकारिता प्रशिक्षण सुरु

2.21K
shares

काठमाडौं, २८ पुस । महिला आर्थिक पत्रकार संघ (फेजा)को आयोजनामा कैलालीको धनगढीमा दुई दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ। पुस २८ र २९ गतेसम्म सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रममा १६ जना महिला आर्थिक पत्रकारको सहभागिता रहेको छ।

एशियाली विकास बैंक (एडिबी) को सहयोगमा आयोजना गरिएको यो प्रशिक्षण कार्यक्रम भर्खरै आर्थिक पत्रकारिता सुरु गरेका महिला पत्रकारहरूको क्षमता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको फेजाकी अध्यक्ष शर्मिला ठकुरीले जानकारी दिइन्। उनका अनुसार यो कार्यक्रमले सुदूरपश्चिम प्रदेशका महिला आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नुका साथै यस क्षेत्रमा महिला आर्थिक पत्रकारहरूको संख्या वृद्धि गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपाल पत्रकार महासंघ कैलाली शाखाका सभापति श्रवण देउवाले फेजाले महिला पत्रकारहरूका लागि मात्र आयोजना गरेको यस प्रकारको प्रशिक्षण कार्यक्रमले आर्थिक पत्रकारिताप्रति महिला पत्रकारहरूको रुचि बढाउने विश्वास व्यक्त गरे। प्रदेश तथा स्थानीय तहका विभिन्न विषयमा समाचार लेखिरहेका महिला पत्रकारहरूका लागि यस प्रशिक्षणले आर्थिक पत्रकारितामा थप सहजता प्रदान गर्ने उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै एशियाली विकास बैंकका प्रमुख अर्थशास्त्री इयान ह्यान्सनले सुदूरपश्चिम प्रदेशमा कृषि, सीमापार व्यापार, पूर्वाधार विकास र पर्यटनजस्ता क्षेत्रमा विशेष चुनौती रहेको उल्लेख गरे। एडिबीको सहयोगमा आयोजित महिला पत्रकार क्षमता विकास कार्यक्रमले ती चुनौतीका विषयहरूलाई राष्ट्रियस्तरमा प्रभावकारी रूपमा प्रस्तुत गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे। प्रशिक्षणबाट महिला पत्रकारहरू आर्थिक तथ्यांक विश्लेषण गर्न, आत्मविश्वासका साथ प्रश्न सोध्न तथा आर्थिक नीतिहरूलाई नागरिकका लागि अर्थपूर्ण रूपमा प्रस्तुत गर्न सक्षम हुने अपेक्षा उनले राखे।

पहिलो चरणमा काठमाडौं उपत्यकामा आयोजना गरिएको यस्तै प्रशिक्षण कार्यक्रम सफल भएको स्मरण गर्दै ह्यान्सनले प्रदेशस्तरमा सञ्चालन गरिएको यो कार्यक्रम पनि सफल हुने विश्वास व्यक्त गरे।

प्रशिक्षण कार्यक्रममा एशियाली विकास बैंकका वरिष्ठ सञ्चार अधिकृत विनिता शाह खड्का, अर्थशास्त्री मानवर खड्का, वरिष्ठ सञ्चार सहायक बरुण बज्राचार्य तथा परामर्शदाता मुन प्रधानलगायतको सहभागिता रहेको छ।