Dhulikhel Eco Banner new

सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

2.73K
shares

काठमाडौं, ४ माघ । सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज माघ ४ गते अन्तिम दिन रहेको छ।

कम्पनीले पुस २९ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री खुला गरेको हो। नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएअनुसार कम्पनीले कुल २ करोड कित्ता आईपीओ जारी गर्ने भएको छ। यसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १ करोड कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० लाख कित्ता निष्कासन गरी बाँडफाँड सम्पन्न भइसकेको छ।

अब बाँकी रहेको ९० लाख कित्तामध्ये ५ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी शेष ८२ लाख कित्ता सर्वसाधारणमा बिक्री खुला गरिएको हो। सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासन प्रयोजनका लागि गराइएको क्रेडिट रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन्।