राष्ट्र बैंकले बैंकहरूको मुद्दति निक्षेपमा ५ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने
वि.सं.२०८२ माघ ६ मंगलवार १४:००
shares

काठमाडौं, ६ माघ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा ५ अर्ब १ करोड १६ लाख रुपैयाँ लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकका विभिन्न कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रूपमा लगानी गर्न लागिएको हो। यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई माघ ८ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव पेश गर्न आह्वान गरेको छ।
कुल लगानी रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा ४ अर्ब ९४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा ७५ करोड १७ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा २५ करोड ५ लाख रुपैयाँ मुद्दति निक्षेपका रूपमा लगानी गर्ने जनाएको छ।
राष्ट्र बैंकका अनुसार यो लगानी सन् २०२६ फेब्रुअरी १ देखि २०२७ फेब्रुअरी १ सम्म ३६६ दिनको अवधिका लागि हुनेछ।















