रेमिट्यान्सको बलमा अर्थतन्त्र सहज ट्रयाकमा, व्यापार घाटा अझै चुनौती
वि.सं.२०८२ माघ १९ सोमवार १८:२०
shares

काठमाडौं, २० माघ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालको अर्थतन्त्रले दबाबबाट बाहिर निस्कँदै स्थिरताको बाटो समातेको संकेत देखिएको छ। नेपाल राष्ट्र बैंकको अर्धवार्षिक समीक्षा अनुसार रेमिट्यान्स, चालु खाता, विदेशी विनिमय सञ्चिति र प्रत्यक्ष वैदेशिक लगानीमा आएको मजबुतीले समग्र आर्थिक अवस्था सहज बनेको हो।
सबैभन्दा ठूलो टेवा विप्रेषण आप्रवाहले दिएको छ। पुस मसान्तसम्म रेमिट्यान्स ३९.१ प्रतिशतले बढेर १० खर्ब ६२ अर्ब रुपैयाँ नाघेको छ। अघिल्लो वर्ष यही अवधिमा रेमिट्यान्स वृद्धि सुस्त थियो। डलरमा समेत विप्रेषण ७ अर्ब ५० करोड पुगेको छ, जसले बाह्य क्षेत्रलाई बलियो बनाएको छ।
रेमिट्यान्सकै असरस्वरूप चालु खाता ४ खर्ब २९ अर्ब रुपैयाँ बचतमा पुगेको छ। अघिल्लो वर्षको तुलनामा चालु खाता बचत झन्डै तीन गुणाले बढ्नु अर्थतन्त्रका लागि सकारात्मक संकेत मानिएको छ। शोधनान्तर स्थिति पनि ५ खर्ब १ अर्ब रुपैयाँ बचतमा रहँदा बाह्य भुक्तानी सन्तुलन थप सहज भएको छ।
विदेशी विनिमय सञ्चितिमा समेत उल्लेखनीय सुधार देखिएको छ। पुस मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ, जुन २१ प्रतिशतभन्दा बढीको वृद्धि हो। यो सञ्चिति हालको आयात संरचनाअनुसार करिब २१ महिनासम्म वस्तु आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको आकलन छ।
यता, निर्यात क्षेत्रमा केही उत्साहजनक संकेत देखिएका छन्। कुल वस्तु निर्यात ४३.८ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। भारततर्फ निर्यात बढे पनि चीनतर्फको निर्यात तीव्र रूपमा घट्नु भने चिन्ताको विषय बनेको छ। आयात १४.२ प्रतिशतले बढेकाले व्यापार घाटा अझै फराकिलो रहँदै ७ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ।
मुद्रास्फीति भने अर्थतन्त्रका लागि राहतको विषय बनेको छ। पुस महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति २।४२ प्रतिशतमा सीमित रहँदा छ महिनाको औसत मुद्रास्फीति १.७० प्रतिशत मात्र रहेको छ। खाद्य समूहमा मूल्य दबाब न्यून रहँदा गैर–खाद्य तथा सेवा क्षेत्रमा भने आंशिक वृद्धि देखिएको छ।
समग्रमा, चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालको अर्थतन्त्र रेमिट्यान्स र बाह्य क्षेत्रको मजबुतीका कारण सहज अवस्थामा देखिए पनि आयात–निर्भर संरचना र बढ्दो व्यापार घाटा दीर्घकालीन चुनौतीका रूपमा कायमै रहेको देखिन्छ।

















