Dhulikhel Eco Banner new

समता घरेलु लघुवित्त घाटाबाट नाफामा

2.91K
shares

काठमाडौं, २२ माघ । गत आवको पुस मसान्तसम्म खुद घाटा बेहोरिरहेको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले त्यसको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा कमाउन सफल भएको छ।

गत आवको पुस मसान्तसम्म कम्पनीले ११ करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवको पुस मसान्तसम्म बढेर झण्डै २२ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। त्यस्तै कम्पनीको कुल सञ्चालन आम्दानी पनि १३ करोड ५७ लाख रुपैयाँबाट बढेर २५ करोड ६२ लाख रुपैयाँ पुगेको छ।

कम्पनीले आजै सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको पुस मसान्तसम्म १ करोड ५६ लाख रुपैयाँ खुद घाटा बेहोरेकोमा चालू आवको पुस मसान्तसम्म आइपुग्दा ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो।

यसरी कम्पनीको आम्दानीमा उछाल आएपछि नाफा बढ्न टेवा पुगेको वित्तीय विवरणले देखाएको छ। कम्पनीको सञ्चालन नाफा १५ करोड ६८ लाख रुपैयाँ ऋणात्मकबाट ८० करोड ७६ लाख रुपैयाँ धनात्मक भएको छ। योसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ५.२४ रुपैयाँ ऋणात्मकबाट १७.१२ रुपैयाँ धनात्मक भएको छ।

त्यस्तै समीक्षा अवधिमा ७.८३ प्रतिशतबाट बढेर १३.३२ प्रतिशत कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १३५.७४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४५.२७ गुणा रहेको छ। पुस मसान्तसम्म कम्पनीको वितरणयोग्य मुनाफा ५० करोड रुपैयाँभन्दा माथि रहेको छ।

चुक्ता पूँजी ६६ करोड रुपैयाँ रहेको कम्पनीको जगेडामा झण्डै ७ करोड रुपैयाँ र रिजर्भमा १६ करोड ६३ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले ६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। पुस मसान्तसम्म आइपुग्दा कम्पनीको कुल सम्पत्तिको मूल्य ६ अर्ब ४० करोड ५४ लाख रुपैयाँ बराबर रहेको छ।