Dhulikhel Eco Banner new

ब्रिटिस काउन्सिलद्वारा लैङ्गिकता केन्द्रित १२ कला परियोजनालाई अनुदान

3.04K
shares

काठमाडौं, २७ माघ । ब्रिटिस काउन्सिलले “इक्वेल टुगेदर” कार्यक्रमअन्तर्गत नेपालका कलाकर्मी र संस्थालाई लैङ्गिक समानता र समावेशीतालाई प्रवद्र्धन गर्ने उद्देश्यसहित १२ वटा कला परियोजनामा अनुदान प्रदान गरेको छ।

यस कार्यक्रम अन्तर्गत कुल ८४ लाख ८२ हजार ७०० रुपैयाँ बराबरको अनुदान वितरण गरिएको छ। यस वर्षको छनोटमा ८ जना कलाकर्मी र चार संस्था परेका छन्। अनुदान रकम न्यूनतम ६ लाखदेखि अधिकतम १० लाख रुपैयाँसम्म रहेको छ।

अनुदानसँगै परियोजनाका सहभागीहरूले कला क्षेत्रमा विशेषज्ञद्वारा प्रशिक्षण, परियोजना कार्यान्वयन, दर्शक सहभागिता र सृजनात्मक विकास सम्बन्धी सत्रमा भाग लिन पाउनेछन्।

अनुदानको अवधि जनवरीदेखि जून २०२६ सम्म हुनेछ। यस अवधिमा काठमाडौं र बेलफास्टमा क्वेयर कमिक प्रदर्शनी, जनकपुरमा स्थानीय समुदायद्वारा तयार पारिएको मिथिला कला पदयात्रा, दमक र काठमाडौंमा महिला र क्वेयर समुदायका स्ट्यान्ड–अप कमेडी कार्यक्रम आयोजना गरिनेछ। साथै, फिल्म, नाटक, बाल पुस्तक र समुदाय आधारित कला प्रदर्शनी पनि समावेश छन्।

ब्रिटिस काउन्सिलका राष्ट्रिय निर्देशक रुस्तम मोदीले भने, “इक्वेल टुगेदर कार्यक्रमले लैङ्गिक मुद्धाका जटिल पक्षलाई कलामार्फत उजागर गर्न सहयोग गरेको छ। परियोजनाहरुले नेपालको विविध परिवेशमा सार्थक संवाद सिर्जना गर्न सृजनात्मक अभ्यासले कसरी योगदान पुर्याउन सक्छ भन्ने देखाउँछन्।”

छनोट प्रक्रिया सहभागीमूलक भएको थियो। २०८२ साउनमा खुला आवेदनका लागि १८० भन्दा बढी आवेदन प्राप्त भएका थिए। तीमध्ये ५३ आवेदकलाई सेमिनारमा सहभागी गराइयो। सेमिनारपछि १२ परियोजनालाई अनुदान र प्रशिक्षणका लागि छनोट गरिएको हो।

छनोट भएका परियोजनामा विराट विजय ओझाको क्वेयर कमिक, इनुमा राईको किराँत समुदायकी वृद्ध महिलामाथि आधारित अडियो–भिजुअल स्टोरी, दि लिड नेपालको युवा दलित महिला सशक्तिकरण परियोजना, मिथिला माझको मिथिला कला पदयात्रा, डोल्कर ल्हामु गुरुङको तिब्बती लोक ओपेरा, दिनेशराज उपाध्यायको लोपोन्मुख महिला सांगीतिक परम्परा संरक्षण, योजना मगरको लघु फिल्म, सुशीला तामाङको बाल साहित्यमा समावेशी नारीवादी कथाहरु, पास द माइकको हास्यमार्फत महिला र लैङ्गिक अल्पसंख्यक सशक्तिकरण, एलिज घिमिरेको फेसन आर्ट, गार्गी नेपालको समावेशी नाट्य कार्यक्रम र अंकुरा स्टुडियोको नेवारी वृद्ध महिलाको कथा संग्रह छन्।

इक्वेल टुगेदर कार्यक्रम कला, संस्कृति र लैङ्गिक सवालमा काम गर्ने अभ्यासकर्तालाई क्षमता विकास, मेन्टरसिप र सार्वजनिक प्रस्तुति अवसर प्रदान गर्ने ब्रिटिस काउन्सिलको विशेष पहल हो।

ब्रिटिस काउन्सिल विश्वव्यापी सांस्कृतिक र शैक्षिक संस्था हो जसले कला, संस्कृति, शिक्षा र अंग्रेजी भाषासम्बन्धी कार्यक्रममार्फत शान्ति र समृद्धिमा योगदान पुर्याइरहेको छ।