Dhulikhel Eco Banner new

नेपाल–बेलायत आर्थिक साझेदारी विस्तार गर्न लन्डनमा फोरम

481
shares

लन्डन — नेपाल र बेलायतबीच व्यापार, लगानी र आर्थिक सहकार्य विस्तार गर्ने उद्देश्यले लन्डनमा नेपाल–बेलायत आर्थिक साझेदारी फोरम २०२६ सम्पन्न भएको छ।

लन्डनस्थित नेपाली राजदूतावासको आयोजनामा भएको फोरममा नीति निर्माता, सांसद, लगानीकर्ता, उद्योगी, निजी क्षेत्रका प्रतिनिधि, प्रविधि विज्ञ, विकास साझेदार र बेलायतस्थित नेपाली समुदायका प्रतिनिधि सहभागी थिए। कार्यक्रममा १५० भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ।

फोरममा दुईवटा समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। पहिलो समझदारी वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघबीच भएको हो। दोस्रो समझदारी वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच भएको हो।

वेस्ट लन्डन चेम्बरका प्रमुख कार्यकारी अधिकृत एलन राइड्स र उपाध्यक्ष डा. रेणु राजले लन्डनबाट हस्ताक्षर गरेका थिए। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल ब्रिटेन चेम्बरका अध्यक्ष डा. रोशन राठीले काठमाडौंबाट भर्चुअल माध्यममार्फत हस्ताक्षर गरेका थिए।

यी समझदारीले नेपाल र बेलायतका निजी क्षेत्रबीच व्यापारिक सम्बन्ध विस्तार, लगानी प्रवर्द्धन, व्यावसायिक सञ्जाल निर्माण र दीर्घकालीन साझेदारीलाई बलियो बनाउने अपेक्षा गरिएको छ। दूतावासले दुई देशका निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याएर नयाँ सहकार्यका सम्भावना खोज्ने उद्देश्यले फोरम आयोजना गरिएको जनाएको छ।

कार्यक्रममा परराष्ट्रमन्त्री डा. शिशिर खनालले पठाएको सन्देशमा नेपालले अन्तर्राष्ट्रिय व्यापार, वैदेशिक लगानी, पर्यटन, प्रविधि हस्तान्तरण र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको उल्लेख गरिएको थियो। उनले जलविद्युत्, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि, पूर्वाधार, उत्पादन, सूचना प्रविधि र डिजिटल सेवामा बेलायती लगानीका लागि नेपाल खुला रहेको बताएका थिए।

नेपालका लागि बेलायती राजदूत रब फेनले नेपालमा लगानीका अवसर प्रशस्त रहेको बताए। उनले सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता र डिजिटल सेवामा नेपाली जनशक्तिको सम्भावना बढ्दै गएको उल्लेख गर्दै बेलायत नेपालको डिजिटल रूपान्तरणमा महत्त्वपूर्ण साझेदार बन्न सक्ने धारणा राखे।

बेलायती सांसद तथा नेपालका लागि सर्वदलीय संसदीय समूहकी अध्यक्ष एलेक्स बेकरले नेपाललाई केवल विकास सहयोग प्राप्त गर्ने मुलुकका रूपमा नभई समान आर्थिक साझेदारका रूपमा हेर्नुपर्ने बताइन्। उनले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई व्यापार, लगानी, शिक्षा, प्रविधि, अनुसन्धान र उद्यमशीलतामा आधारित व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइन्।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष कुल आचार्यले बेलायतस्थित नेपाली समुदायलाई नेपालका पूर्वाधार, जलविद्युत्, पर्यटन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गरे। उनले नेपाल दुई ठूला अर्थतन्त्र चीन र भारतबीच रहेको भन्दै बजार र विकासका दृष्टिले नेपालमा ठूलो सम्भावना रहेको बताए।

कार्यक्रममा लगानी बोर्ड नेपालले नेपालमा लगानीका सम्भावनाबारे प्रस्तुति गरेको थियो। ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट, यूके एक्सपोर्ट फाइनान्स र बेलायतको डिपार्टमेन्ट फर बिजनेस एन्ड ट्रेडका प्रतिनिधिहरू पनि सहभागी थिए।

फोरममा बजार पहुँच, लगानी सहजीकरण, नीतिगत स्पष्टता, कृत्रिम बुद्धिमत्ता, प्रविधि हस्तान्तरण, आउटसोर्सिङ, व्यावसायिक सेवा र डिजिटल अर्थतन्त्रबारे छलफल भएको थियो। सहभागीहरूले सरकार, निजी क्षेत्र र लगानीकर्ताबीच निरन्तर संवाद आवश्यक रहेको धारणा राखेका थिए।

कार्यक्रमले नेपाल–बेलायत आर्थिक सम्बन्धलाई थप संस्थागत र परिणाममुखी बनाउन सहयोग गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ। कार्यक्रमको सञ्चालन नेपाली राजदूतावासका द्वितीय सचिव सन्जोग राईले गरेका थिए।