Dhulikhel Eco Banner new

पुससम्म प्रदेश र स्थानीय तहमा करिब २ खर्ब हस्तान्तरण

2.6K
shares

काठमाडौं, २७ माघ । संघीय सरकारले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त)सम्म प्रदेश र स्थानीय तहमा करिब २ खर्ब रुपैयाँ अन्तरसरकारी वित्तीय हस्तान्तरण गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार पुससम्म प्रदेश सरकारलाई ३८ अर्ब १८ करोड ७२ लाख र स्थानीय तहलाई १ खर्ब ५२ अर्ब ४६ करोड ४ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो । यो विनियोजित अनुदानको प्रदेशतर्फ ३९।१४ प्रतिशत र स्थानीय तहमा ४७।६० प्रतिशत हो ।

चालु आवमा प्रदेश र स्थानीय तहका लागि संघीय बजेटबाट कुल ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । पुससम्म प्रदेशको कुल बजेटमध्ये १४.१६ प्रतिशत मात्र खर्च भएको छ भने पूँजीगत खर्च ९.३३ प्रतिशतमा सीमित छ । स्थानीय तहले भने प्राप्त रकममध्ये ५६.८२ प्रतिशत खर्च गरिसकेका छन् ।

अर्थ मन्त्रालयले प्रदेश र स्थानीय तहमा खर्च क्षमता कमजोर रहँदा संघीय सरकारले नगद अभावका कारण ऋण लिनुपर्ने विरोधाभासपूर्ण अवस्था देखिएको जनाएको छ ।