मजबुत टाइटन–टफ बनावट र लामो ब्याट्री ब्याकअपसहित रेडमी नोट १५ नेपालमा
वि.सं.२०८२ माघ २९ बिहीवार ११:३५
shares

काठमाडौं, २९ माघ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्नो नयाँ स्मार्टफोन ‘रेड्मी नोट १५’ नेपाली बजारमा सार्वजनिक गरेको छ। आकर्षक डिजाइन, शक्तिशाली ब्याट्री, उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) सुविधा र अत्याधुनिक सुरक्षा प्रविधिसहितको यो स्मार्टफोन अब देशभर उपलब्ध भएको कम्पनीले जनाएको छ।
रेड्मी नोट १५ मा ६,००० एमएएच क्षमताको ठूलो ब्याट्री दिइएको छ, जसले लामो समयसम्म प्रयोग गर्न सकिने सुविधा प्रदान गर्छ। यसमा ३३ वाट द्रुत चार्जिङ र १८ वाट रिभर्स चार्जिङ सुविधा उपलब्ध छ। स्मार्ट चार्जिङ इन्जिनमार्फत ब्याट्रीको स्वास्थ्य र कार्यक्षमता वास्तविक समयमा व्यवस्थापन गरिन्छ। कम्पनीका अनुसार २,००० पटकसम्म चार्ज गर्दा पनि ब्याट्रीको क्षमता ८० प्रतिशतभन्दा बढी कायम रहने भएकाले ६ वर्षभन्दा बढी भरपर्दो प्रयोग सम्भव हुन्छ। एकपटक पूर्ण चार्ज गर्दा दुई दिनसम्म सामान्य प्रयोग, २४ घण्टा भिडियो हेर्न वा ५० घण्टासम्म कल गर्न सकिने दाबी गरिएको छ।
डिजाइनतर्फ ग्लेसियर निलो, बैजनी, वन हरियो र कालो रङमा उपलब्ध यो फोनको आकार १६४.०३ × ७५.४२ × ७.९४ मिलिमिटर तथा तौल १८३.७ ग्राम रहेको छ। आईपी ६४ धुलो तथा पानी प्रतिरोधी सुविधा र ‘वेट टच टेक्नोलोजी २.०’ का कारण हल्का वर्षा, पानीका छिटा वा धुलोयुक्त वातावरणमा पनि सहज रूपमा प्रयोग गर्न सकिन्छ। १.८ मिटर उचाइबाट खस्दा पनि सुरक्षित रहने बलियो डिस्प्ले ग्लास, मजबुत मदरबोर्ड र मिड–फ्रेम संरचनाले फोनका महत्वपूर्ण भागहरू सुरक्षित राख्ने कम्पनीको दाबी छ।
फोटोग्राफीका लागि १०८ मेगापिक्सेल मुख्य क्यामेरा, २ मेगापिक्सेल डेप्थ क्यामेरा र २० मेगापिक्सेल अगाडिको क्यामेरा उपलब्ध छन्। साथै ३ गुणा अप्टिकल टेलिफोटो क्यामेराले टाढाका दृश्यहरू स्पष्ट रूपमा कैद गर्न सहयोग पुर्याउँछ। २४ मिमी, २८ मिमी, ३५ मिमी र ७२ मिमी फोकल लम्बाइ समर्थनले फराकिलो दृश्यदेखि पोर्ट्रेटसम्म उत्कृष्ट तस्बिर खिच्न सकिने बताइएको छ। ध्वनि अनुभवका लागि दोहोरो स्पिकर, ३०० प्रतिशतसम्म ध्वनि वृद्धि तथा डल्बी एट्मस र उच्च–रिजोलुसन अडियो समर्थन समावेश गरिएको छ।
यो स्मार्टफोन अधिकतम ८ जीबी र्याम र ५१२ जीबी भण्डारण विकल्पमा उपलब्ध छ। हाइब्रिड सिम स्लटमार्फत भण्डारण विस्तार गर्न सकिन्छ। शाओमीको हाइपर सञ्चालन प्रणालीमा चल्ने यो फोन ६ न्यानोमिटर प्रविधिमा आधारित मिडियाटेक हेलियो जी१००–अल्ट्रा चिपसेटबाट सञ्चालित छ। २।२ गिगाहर्जसम्मको अक्टा–कोर प्रोसेसर, माली–जी५७ एमसी२ ग्राफिक्स, एलपीडीडीआर४एक्स र्याम र यूएफएस २।२ भण्डारणले छरितो तथा स्मूथ कार्यसम्पादन सुनिश्चित गर्ने कम्पनीको भनाइ छ।
रेड्मी नोट १५ ६ जीबी १२८ जीबी, ८ जीबी १२८ जीबी, ८ जीबी २५६ जीबी र ८ जीबी ५१२ जीबी संस्करणमा उपलब्ध छ। यसमा एआई इरेज, एआई रिमुभ रिफ्लेक्सन, एआई ब्यूटिफाइ, एआई स्काइ र एआई बोकेजस्ता सुविधा समावेश छन्। गुगल जेमिनी र ‘सर्कल टु सर्च’ सुविधाले प्रयोगकर्ताको अनुभव अझ सहज बनाउने बताइएको छ। फोनले एनएफसी, ब्लुटुथ ५।६, नानो सिम तथा माइक्रो एसडी समर्थन, २.४ गिगाहर्ज र ५ गिगाहर्ज वाइफाइ तथा २जी, ३जी र ४जी नेटवर्क समर्थन गर्छ।
दृश्य अनुभवका लागि ६.७७ इन्चको एमोलेड डिस्प्लेमा १२० हर्ज रिफ्रेस दर, १२–बिट रङ गहिराइ, उच्च कन्ट्रास्ट र ३,२०० निट्ससम्मको उच्चतम ब्राइटनेस उपलब्ध छ। ३८४० हर्ज पीडब्लुएम डिमिङ प्रविधिले स्क्रिन फ्लिकर कम गर्दै आँखाको थकान घटाउने बताइएको छ। डिस्प्लेले कम निलो प्रकाश, फ्लिकर–फ्री र सर्केडियन फ्रेन्डली प्रमाणपत्र प्राप्त गरेको छ। सुरक्षाका लागि इन–डिस्प्ले औँठाछाप सेन्सर र एआई फेस अनलक सुविधा दिइएको छ।
टाइटन टिकाउ अवधारणामा आधारित रेड्मी नोट १५ अब नेपालभर टेलिडाइरेक्ट प्रालि र वत्सल इम्पेक्स प्रालिका आधिकारिक बिक्रेता सञ्जालमार्फत उपलब्ध छ। यसको ६ जीबी १२८ जीबी संस्करणको मूल्य रु. २९,९९९ र ८ जीबी २५६ जीबी संस्करणको मूल्य रु. ३५,९९९ तोकिएको कम्पनीले जनाएको छ।









