Dhulikhel Eco Banner new

सिटिजन्स बैंक र मेदान्त द मेडिसिटीबीच थप सम्झौता, भारतका ६ थप अस्पतालमा १५ प्रतिशतसम्म छुट

2.13K
shares

काठमाडौं, १५ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त द मेडिसिटी बीच बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवाशुल्कमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर गरिएको छ।

यसअघि उक्त छुट सुविधा मेदान्ता, गुडगाँवमा मात्र लागू हुँदै आएकोमा नयाँ सम्झौतापछि मेदान्ताका थप ६ अस्पतालमा समेत विस्तार गरिएको बैंकले जनाएको छ।

अब ग्राहकहरूले मेदान्ता नोएडा, मेदान्ता सुपर स्पेशलिटी अस्पताल लखनउ, जय प्रभा मेदान्ता सुपर स्पेशलिटी अस्पताल पटना, मेदान्ता सुपर स्पेशलिटी अस्पताल इन्दौर, मेदान्ता अब्दुर रज्जाक अन्सारी मेमोरियल वीभर्स अस्पताल राँची तथा मेदान्ता अस्पताल राँचीमा समेत उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन्। साथै मेदान्ताका ५ मेडिक्लिनिकबाट समेत छुट सुविधा उपलब्ध हुने भएको छ।

उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरेका हुन्। बैंकका अनुसार यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचारका लागि जाने ग्राहकहरूले सहज र सुलभ रूपमा लाभ लिँदै आएका छन्। नयाँ सम्झौतासँगै भविष्यमा पनि ग्राहकलाई थप लाभ उपलब्ध गराउने उद्देश्य राखिएको जनाएको छ।

यस सहकार्यको निरन्तरताले दुवै संस्थाबीचको सम्बन्ध अझ सशक्त हुने तथा भारतमा उपचारका लागि जाने नेपाली ग्राहकलाई थप सहजता मिल्ने विश्वास बैंकले लिएको छ।

यसैबीच, बैंकले विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ उपाधि प्राप्त गर्न सफल भएको जनाएको छ। साथै फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ।

बैंकले नवयुवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म तथा फ्रिलान्सरहरूलाई लक्षित ‘फ्रिलान्सर सेभिङ्ज अकाउन्ट’ समेत सञ्चालनमा ल्याइसकेको छ।

हाल बैंकले देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत १९ लाख ७६ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।