सामसङले सार्वजनिक गर्यो सामसङ ग्यालेक्सी एस २६ सिरिज
वि.सं.२०८२ फागुन १५ शुक्रवार ११:०१
shares

काठमाडौं, १५ फागुन । सामसङले आफ्नो नवीनतम स्मार्टफोन लाइनअप ‘सामसङ ग्यालेक्सी एस २६ सिरिज’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ सिरिज अत्याधुनिक ग्यालेक्सी एआई प्रविधिद्वारा सञ्चालित रहेको छ, जसले प्रयोगकर्तालाई अझ सहज, व्यक्तिगत र बुद्धिमान मोबाइल अनुभव प्रदान गर्नेछ।
कम्पनीले जनाएको छ कि ग्यालेक्सी एस २६ सिरिज प्रयोगकर्ताको दैनिक जीवनसँग स्वाभाविक रूपमा घुलमिल हुने गरी डिजाइन गरिएको हो। नयाँ पुस्ताको ग्यालेक्सी एआईले स्मार्ट अन्तरक्रिया, उन्नत उत्पादकता तथा सहज सिर्जनशीलता सम्भव बनाउने विश्वास गरिएको छ।
यस सिरिजमा समावेश गरिएको बुद्धिमान क्यामेरा प्रणालीले जुनसुकै वातावरणमा पनि स्पष्ट र आकर्षक तस्बिर तथा भिडियो खिच्न सक्षम बनाउने कम्पनीको दाबी छ। रियल–टाइम सहयोग सुविधा, अनुकूलित कार्यसम्पादन तथा ऊर्जा दक्षताले दैनिक प्रयोगलाई अझ सरल र प्रभावकारी बनाउने बताइएको छ।
डिजाइन र कार्यसम्पादनका दृष्टिले पनि यो सिरिजले नयाँ मापदण्ड स्थापित गरेको कम्पनीले उल्लेख गरेको छ। परिष्कृत प्रिमियम बनावट, उन्नत प्रशोधन क्षमता तथा एआई–आधारित ब्याट्री समायोजन सुविधासहित ग्यालेक्सी एस २६ सिरिजले सहज बहुकार्य, उत्कृष्ट मनोरञ्जन अनुभव तथा दिनभर भरपर्दो प्रदर्शन सुनिश्चित गर्ने जनाएको छ।
यस अवसरमा प्रतिक्रिया दिँदै सामसङ एमएक्स डिभिजनका निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी एस २६ सिरिजले प्रयोगकर्ताको आवश्यकता बुझेर काम गर्ने उपकरणका रूपमा विकास गरिएको बताए। उनका अनुसार ग्यालेक्सी एआईले स्वाभाविक र सहज अनुभव प्रदान गर्दै नेपाली उपभोक्ताको दैनिक जीवन, सिर्जनशीलता र उत्पादकतालाई अझ उन्नत बनाउनेछ।
औपचारिक सार्वजनिक लन्चअघि सामसङ नेपालले ‘ह्यान्ड रेजर अफर’ सञ्चालन गरेको थियो। उक्त योजनामार्फत ग्राहकहरूले पूर्वदर्ता गरी विशेष लाभहरू सुरक्षित गरेका थिए। साथै, आकर्षक साटासाट सुविधा, २४ महिनासम्म सहज किस्ता विकल्प तथा विभिन्न उपहारहरूको व्यवस्था गरिएको थियो।
ग्यालेक्सी एस २६ सिरिज देशभरका अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ। साथै, हुलास फिनसर्भ प्रालिमार्फत इन्स्टा फाइनान्स प्रयोग गरी सहज किस्ता सुविधामा समेत यो उपकरण उपलब्ध गराइनेछ।















