Dhulikhel Eco Banner new

कर्णाली डेभलपमेन्ट बैंकका पूर्व अध्यक्षसहित पाँच सञ्चालकलाई राष्ट्र बैंकद्धारा पुनः स्पष्टीकरण माग

3.34K
shares

काठमाडौं, १७ फागुन । समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्षसहित पाँच जना सञ्चालकलाई नेपाल राष्ट्र बैंकले पुनः स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

केन्द्रीय बैंकअन्तर्गतको वित्तीय संस्था सुपरीवेक्षण विभागले आइतबार सार्वजनिक सूचना जारी गर्दै बैंकका तत्कालीन अध्यक्ष डा। ओम प्रकाश मिश्र तथा सञ्चालकहरू युवराज अधिकारी, उषा कुमारी भण्डारी, टंक बहादुर बस्नेत र निसार अहमद दर्जीलाई १० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनेको हो।

राष्ट्र बैंकले यसअघि २०८२ असोज २८ गते १५ दिनको समयसीमा तोक्दै सम्बन्धित अध्यक्ष र सञ्चालकहरूलाई पदबाट हटाउनु नपर्ने कारण खुलाएर स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। तर तोकिएको अवधिभित्र कुनै पनि जवाफ प्राप्त नभएपछि पुनः सूचना प्रकाशित गरिएको केन्द्रीय बैंकले जनाएको छ।

नयाँ सूचनाअनुसार सम्बन्धित पदाधिकारीहरूले आफ्नो स्पष्टीकरण नेपाल राष्ट्र बैंकको नेपालगञ्ज कार्यालय, वित्तीय संस्था सुपरीवेक्षण विभाग वा कर्णाली डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय, नेपालगञ्ज ९बाँके० स्थित व्यवस्थापन समूहमा बुझाउन सक्नेछन्।

समस्याग्रस्त घोषणा गरिएपछि बैंकको व्यवस्थापन तथा निगरानी प्रक्रिया राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा सञ्चालन हुँदै आएको छ।