स्काईवेलसँगको सम्झौता जोगाउन जी मोटर्स असफल, अदालतले दिएन साथ
वि.सं.२०८३ असार १९ शुक्रवार १६:०३
shares

काठमाडौं, १९ असार । चिनियाँ विद्युतीय सवारी ब्रान्ड स्काईवेलको नेपालका लागि आधिकारिक बिक्रेता रहेको जी मोटर्सले उत्पादक कम्पनीसँगको बिक्रेता सम्झौता कायम राख्न माग गर्दै दायर गरेको मुद्दामा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
स्काईवेलको उत्पादक कम्पनी जियान्सु स्काईवेल अटोमोबाइल कम्पनी लिमिटेडले सन् २०२६ जुन ५ देखि लागू हुने गरी जी मोटर्स सँगको आधिकारिक बिक्रेता सम्बन्धि सम्झौता खारेज गरेको थियो। सम्झौता खारेज गर्ने निर्णय विरुद्द जी मोटर्सले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।
जी मोटर्सले ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनी सहित, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, भन्सार विभाग र यातायात व्यवस्था बिभागलाई समेत विपक्षी बनाएर मुद्दा दायर गरेको थियो । उसले आधिकारिक बिक्रेता सम्बन्धि सम्झौता कायम नै राख्न माग गर्दै मुद्दा दायर गरेको थियो ।
यस मुद्दामा अदालतले असार ३ गते कारण देखाउ आदेश जारी गरेको थियो भने असार १२ गते न्यायाधीशद्वय ऋषिराम निरौला र नारायणप्रसाद सुवेदीको संयुक्त इजलाशले जी मोटर्सको माग अनुसार अन्तरिम आदेश जारी नहुने गरि आदेश दिएको हो । यस संगै अब कानूनी रुपमा पनि जी मोटर्स स्काईवेलको आधिकारिक बिक्रेताबाट बाहिरिएको छ ।
अब जी मोटर्सलाई स्काईवेल ब्राण्डका ईभी आयातका लागि यसअघि दिइएको एजेन्सी दर्ता हट्ने छ। यसअघि जी मोटर्सले प्रिमीयम ब्राण्ड स्काईवेललाई नेपाल भित्र्याउँदै आक्रामक प्रचार गरेको थियो । बीई११ र ईटी५ मोडललाई बजारमा अपेक्षाकृत बिक्री गर्न भने सकिरहेको थिएन । धनगढीका मेयर गोपी हमाललाई गाडी बिक्री गरेर चर्चा गराउन कोशिस गरेपनि जी मोटर्सले बिक्री बढाउन भने सकेन ।
तर, उत्पादक कम्पनीले सम्झौता खारेज गरिनुमा कुनै कारण भने उल्लेख गरेको छैन । यद्यपी, अब यो ईभी आयातका लागि लविङ गरिरहेका कम्पनीहरुले भने जी मोटर्सले बिक्री बढाउन नसकेकै कारण उत्पादकले सम्झौता खारेज गरेको दाबी गरेका छन् ।



















