Dhulikhel Eco Banner new

आठ महिनामै ३० अर्बको स्मार्टफोन आयात

2.77K
shares

काठमाडौं, ८ चैत । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा स्मार्टफोन आयात उल्लेख्य रूपमा वृद्धि भएको छ। भन्सार विभागका अनुसार साउनदेखि फागुनसम्म करिब १५ लाख २८ हजार स्मार्टफोन भित्रिएका छन्, जसको कुल मूल्य २९ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ पुगेको हो।

गत आर्थिक वर्षको सोही अवधिमा भने करिब १४ लाख ७ हजार स्मार्टफोन आयात भएका थिए, जसको मूल्य २१ अर्ब ९१ करोड ८३ लाख रुपैयाँ थियो। यस आधारमा चालु आवमा स्मार्टफोन आयात झन्डै १ लाख २१ हजार थानले बढ्नुका साथै मूल्यतर्फ करिब ८ अर्ब रुपैयाँभन्दा बढीले वृद्धि भएको देखिन्छ।

आयातको संरचनामा चीनको हिस्सा सबैभन्दा ठूलो रहेको छ। कुल आयातमध्ये करिब ८५ प्रतिशत अर्थात १२ लाख ९२ हजार ३ सय स्मार्टफोन चीनबाट आयात भएका छन्, जसको मूल्य २३ अर्ब ७ करोड रुपैयाँ रहेको छ।

मोबाइल आयातबाट सरकारको राजस्व संकलन पनि बढेको छ। चालु आवको आठ महिनामा ५ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन भएको छ भने गत आवको सोही अवधिमा ४ अर्ब ८ करोड रुपैयाँ राजस्व उठेको थियो।

भन्सार विभागका अनुसार डिजिटल प्रविधिको विस्तार, अनलाइन सेवाको प्रयोगमा वृद्धि तथा सामाजिक सञ्जालप्रतिको बढ्दो आकर्षणले स्मार्टफोनको माग बढाएको हो। विशेषगरी ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच विस्तार भएसँगै स्मार्टफोन प्रयोग व्यापक बन्दै गएको छ।

नेपालमा स्मार्टफोन मुख्यतः चीन र भारतबाट आयात हुने गरेको छ। साथै अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया र यूएईबाट पनि सीमित मात्रामा स्मार्टफोन भित्रिने गरेका छन्।