Dhulikhel Eco Banner new

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

1.31K
shares

काठमाडौं, ११ चैत । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओका आवेदन दिने आज अन्तिम दिन रहेको छ। सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत ८ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो।

नेपाल धितोपत्र बोर्डबाट फागुन १७ गते अनुमति पाएपछि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २८ लाख कित्ता आईपीओ निष्काशन गरेको हो। यसमध्ये ७ लाख कित्ता आयोजना प्रभावित स्थानीयका लागि र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।

आयोजना प्रभाविततर्फ सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. १ देखि ७ सम्मका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

आवेदन गर्दा आयोजना प्रभावितहरूले न्यूनतम १० कित्ता देखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका आवेदकहरूले न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म माग गर्न सक्नेछन्। आयोजना प्रभाविततर्फको आईपीओ निष्काशन अवधि भने छिटोमा चैत २२ गते र ढिलोमा वैशाख ७ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ।

आयोजना प्रभावितहरूले याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको सिन्धुपाल्चोकस्थित कार्यालय, सिन्धु विकास बैंक लिमिटेड तथा कुमारी बैंक लिमिटेडका जुगल गाउँपालिकास्थित शाखा कार्यालयहरू र सिन्धु विकास बैंककै चौतारास्थित कार्यालयबाट आवेदन फाराम प्राप्त तथा बुझाउन सक्ने व्यवस्था गरिएको छ।