हिमालयन रिइन्स्योरेन्ससहित ८ बीमा कम्पनीका संस्थापक शेयरधनी विभागको छानबिनको घेरामा
वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:४०
shares

काठमाडौं, १७ वैशाख । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादित व्यवसायी दीपक भट्टसँग जोडिएको लगानीमाथि छानबिन सुरु गरेको छ। विभागले हिमालयन रिइन्स्योरेन्स लिमिटेडसहित ८ वटा बीमा कम्पनीको लगानी प्रक्रिया अनुसन्धानको दायरामा ल्याएको हो।
विभागले सार्वजनिक सूचना जारी गर्दै ती कम्पनीका संस्थापक शेयरधनीहरूलाई शेयर खरिद गर्दा भुक्तानी गरिएको रकमको विस्तृत विवरण १५ दिनभित्र पेस गर्न निर्देशन दिएको जनाएको छ।
अनुसन्धानको घेरामा नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स र ट्रस्ट माइक्रो इन्स्योरेन्स रहेका छन्।
विभागका अनुसार यी कम्पनीहरूले नेपाल बीमा प्राधिकरणबाट सञ्चालन अनुमति ९लाइसेन्स० प्राप्त गर्ने क्रममा ठूलो आर्थिक चलखेल भएको आशंकामा अनुसन्धान अघि बढाइएको हो।
प्रारम्भिक सूचनाअनुसार संस्थापक शेयरधनीहरूले कम्पनीको चुक्ता पुँजीबापत बुझाउनुपर्ने आधिकारिक रकमबाहेक अतिरिक्त शुल्क विभिन्न व्यक्ति तथा संस्थाहरूको बैंक खातामा जम्मा गरेको हुन सक्ने आशंका गरिएको छ।
विभागले सूचनामार्फत संस्थापक लगानीकर्ताहरूलाई यस्तो अतिरिक्त रकमको विवरण कति रकम, कसको नाममा, कुन बैंक खातामा जम्मा गरिएको लगायत सम्पूर्ण जानकारी प्रमाणसहित उपलब्ध गराउन निर्देशन दिएको छ।
विभागले यस प्रकरणमा प्राप्त विवरणका आधारमा थप अनुसन्धान अघि बढाउने जनाएको छ।


















