Dhulikhel Eco Banner new

मेरुदण्ड रोगसँग जुधिरहेका चेत प्रसाद, ५० लाख अभावमा उपचार अधुरो हुँदा सहयोगको अपिल

1.38K
shares

काठमाडौं, २१ वैशाख । रामेछाप जिल्ला, सैपु लिखुतामाकोशी गाउँपालिका–२ मा जन्म भई हाल काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ केराघारी बसोबास गर्दै आएका चेत प्रसाद पौडेल मेरुदण्डसम्बन्धी गम्भीर समस्याका कारण यतिबेला जीवन संघर्षमा रहेका छन्।

उनी तीन वर्षदेखि मेरुदण्डको समस्याले थलिएका छन्। उनका अनुसार करिब ३ वर्षअघि बेलुका  सामान्य रूपमा सुतेका उनी भोलिपल्ट बिहान उठ्नै नसक्ने अवस्थामा पुगे। त्यसपछि उनी लगातार २६ महिनासम्म ओछ्यानमै सीमित भए। सो अवधिमा उनी पूर्ण रूपमा अरूको सहारामा निर्भर रहनु परेको थियो भने परिवारका सदस्य, विशेषगरी बालबालिकाले ह्वीलचेयरमार्फत बाहिर–भित्र गरिदिने गरेका थिए।

चिकित्सकका अनुसार उनको मेरुदण्डदेखि घाँटीसम्म स्टिल प्लेट राख्नुपर्ने अवस्था रहेको छ, जसका लागि करिब ५० लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ। कमजोर आर्थिक अवस्थाका कारण उपचार गराउन असमर्थ रहेका उनले सबै बुबाआमा, दाजुभाइ, दिदीबहिनी, शुभचिन्तक तथा देश–विदेशमा रहेका नेपालीहरूसँग सहयोगका लागि अनुरोध गरेका छन्।

हाल केही सुधार आए पनि उनी अझै सामान्य रूपमा हिँडडुल गर्न सक्ने अवस्थामा छैनन्। उनका अनुसार आत्मबलका साथ बैसाखीको सहारामा केही मात्रामा हिँड्ने प्रयास गरिरहेका छन्।

कमजोर आर्थिक अवस्थाका कारण उपचार सम्भव नभएको भन्दै पौडेलले देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, विभिन्न संघसंस्था र शुभचिन्तकहरूसँग सहयोगको अपिल गरेका छन्।

“हजुरहरूको सानो सहयोगले पनि मेरो जीवन बच्न सक्छ भन्ने आशा लिएको छु,” उनले भावुक अपिल गरेका छन्।

सहयोग गर्न इच्छुक व्यक्तिहरूले कुमारी बैंक लिमिटेड, पाँचखाल शाखामा रहेको चेत प्रसाद पौडेलको नामको खाता नम्बर १७२०३०४७४४२००००१ मा सहयोग गर्न सक्ने जनाइएको छ।

स्थानीयहरूले पनि उनको उपचारका लागि सहयोग जुटाउन पहल गरिरहेको जनाएका छन्। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्दै सबै पक्षसँग सहयोगका लागि आग्रह गरिएको छ।