माईखोला हाइड्रोपावरका शेयरमा लक–इन वैशाख १८ गते समाप्त हुने, बजारमा आपूर्ति बढ्ने संकेत
ठूलो संख्यामा शेयर उपलब्ध हुँदा मूल्यमा अल्पकालीन दबाब पर्न सक्ने
वि.सं.२०८२ चैत १३ शुक्रवार ०७:१८
shares

काठमाडौं । माईखोला हाइड्रोपावर लिमिटेडका केही वर्गका शेयरमा लगाइएको लक–इन अवधि अब अन्त्यतिर पुगेको छ। कम्पनीले जारी गरेको सूचनाअनुसार संस्थापक, कर्मचारी तथा आयोजना प्रभावित स्थानीय बासिन्दाको नाममा रहेका शेयर अब तोकिएको मिति पूरा भएसँगै कारोबारका लागि खुल्ने भएका हुन्।
कम्पनीले २०८० सालमा सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरी बाँडफाँड गरेपछि नियामकीय व्यवस्था अनुसार निश्चित समूहका शेयरहरू केही समयका लागि लक–इनमा राखिएको थियो। सो अवधि आगामी २०८३ वैशाख १८ गते समाप्त हुने बताइएको छ।
लक–इनमा रहेका शेयरको परिमाण उल्लेख्य रहेकोले यसको अवधि समाप्त भएपछि दोस्रो बजारमा शेयर आपूर्ति बढ्ने अनुमान गरिएको छ। बजारमा एकैपटक ठूलो संख्यामा शेयर उपलब्ध हुँदा मूल्यमा अल्पकालीन दबाब पर्न सक्ने भए पनि यसले कारोबारको गतिशीलता बढाउने अपेक्षा गरिएको छ।
विशेषगरी संस्थापक समूहसँगै कर्मचारी र स्थानीय तहका लगानीकर्ताले पाएको शेयर खुला हुने भएकाले बजारमा नयाँ विक्री दबाब देखिन सक्ने विश्लेषण गरिएको छ। तर, दीर्घकालीन दृष्टिले भने यसले बजारमा तरलता बढाउने र कारोबारलाई थप सक्रिय बनाउने विश्वास गरिएको छ।
कम्पनीले यस सूचनामार्फत सम्पूर्ण सरोकारवालालाई जानकारी गराउँदै आवश्यक तयारी गर्न आग्रह गरेको छ। साथै, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापन तहमा रहेका व्यक्तिहरूको हकमा भने पदमा रहँदा तथा पदबाट बाहिरिएपछि निश्चित अवधिसम्म शेयर कारोबारमा प्रतिबन्ध यथावत रहने जनाइएको छ।



















