Dhulikhel Eco Banner new

लगानी वातावरण जोगाउन ‘निजी क्षेत्र संरक्षण रणनीति’ तत्काल लागू हुने

3.85K
shares

काठमाडौं, १५ चैत । जेनजी आन्दोलन तथा सार्वजनिक प्रदर्शनका कारण प्रभावित बनेको निजी क्षेत्रको लगानी वातावरण र रोजगारीलाई संरक्षण गर्न सरकारले सहुलियत तथा सुरक्षामूलक कार्यक्रम अघि सारेको छ । मन्त्रिपरिषद्ले शुक्रबार पारित गरेको १०० कार्यसूचीमार्फत निजी क्षेत्रमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखिएको हो ।

सरकारले निजी क्षेत्र, उद्योग–व्यवसाय, बैंक तथा वित्तीय संस्था, साना तथा मझौला उद्यम र सेवा क्षेत्रको सुरक्षा तथा संरक्षणका लागि ‘निजी क्षेत्र संरक्षण रणनीति’ तयार गरी तत्काल लागू गर्ने निर्णय गरेको छ । यसले अस्थिरता र अवरोधबीच व्यवसाय सञ्चालनलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

त्यसैगरी, उद्योग, व्यापारिक केन्द्र, बैंकिङ पूर्वाधार तथा आपूर्ति शृङ्खलाको सुरक्षाका लागि सुरक्षा निकायलाई उच्च सतर्कतामा राख्ने र विशेष सुरक्षा प्रबन्ध गर्ने निर्णय पनि गरिएको छ । प्रदर्शनका कारण प्रभावित व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन प्रशासनिक सहजीकरणलाई प्राथमिकता दिइने सरकारको योजना छ ।

सरकारले व्यवसायमा भएको क्षतिको तथ्याङ्क संकलन गरी राहत, पुनर्स्थापना तथा सहुलियत प्याकेज ल्याउने घोषणा गरेको छ । यसअन्तर्गत कर छुट, ब्याज सहुलियत तथा ऋण पुनर्संरचना जस्ता कार्यक्रम समावेश गरिनेछ ।

निजी क्षेत्रसँग निरन्तर संवाद र समन्वय कायम गर्न प्रधानमन्त्रीको अध्यक्षतामा रहेको उद्योग–वाणिज्य संवाद परिषद्लाई सक्रिय बनाइने पनि कार्यसूचीमा उल्लेख गरिएको छ ।

सरकारको यो कदमले पछिल्लो समय देखिएको अस्थिरताबीच निजी क्षेत्रको विश्वास पुनःस्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।