नेपाललाई गरिखाने मान्छेहरूको देश बनाउँछौँः अर्थमन्त्री वाग्ले
वि.सं.२०८२ चैत १८ बुधवार ११:२१
shares

काठमाडौं, १८ चैत । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई श्रम, उद्यम र इमानदारीबाट अघि बढ्ने “गरिखाने मान्छेहरूको देश” बनाउने लक्ष्यसहित अर्थतन्त्र सुदृढ गर्ने बताएका छन्। मंगलबार नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँगको भेटमा उनले निजी क्षेत्रसँग सहकार्य गर्दै आर्थिक विकासलाई गति दिने प्रतिबद्धता व्यक्त गरे।
अर्थमन्त्री वाग्लेले राज्य र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उद्यमशील वातावरण सिर्जना गर्नेमा सरकार प्रतिबद्ध रहेको बताए। “तपाईंहरूलाई उँड्ने, फैलने सुविधा राज्यले दिन्छ। देश बनाउने हुटहुटी बोकेर आएका छौँ, आउनुस्, हातेमालो गरौँ,” उनले भने।
उनले इमानदार उद्योगी–व्यापारीलाई कानुनी जटिलताका कारण बदनाम हुने अवस्था अन्त्य गरिने स्पष्ट पारे। “रोजगारी सिर्जना गर्नेहरूले अब दुःख हैरानी भोग्नु पर्दैन, यसको ग्यारेन्टी म गर्छु,” उनले जोड दिए।
अर्थतन्त्र मजबुत बनाउन आवश्यक नीतिगत सुधारका लागि निजी क्षेत्रसँग सुझाव माग्दै उनले भने, “उद्योग गर्न राज्यले के गर्नुपर्छ भन्नुस्, हामी तयार छौँ। तपाईंहरू पनि इमानदार भइदिनुस्।”
वाग्लेले मुलुकको सर्वाङ्गीण विकासका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए। साथै, निजी क्षेत्रलाई इमानदारीको अपील गर्दै सरकारले पूर्ण सहयोग गर्ने तर नियोजित भ्रष्टाचार र बेइमानीप्रति कडा हुने चेतावनी पनि दिए।
एलडीसीबाट स्तरोन्नतिसम्बन्धी निजी क्षेत्रको चिन्ता आफूले बुझेको उल्लेख गर्दै उनले तत्काल त्यस्तो निर्णय नहुने धारणा राखे।
यस भेटघाटले सरकार र निजी क्षेत्रबीच विश्वास र सहकार्यको नयाँ आधार निर्माण गर्ने अपेक्षा गरिएको छ।



















