सुपरमाई हाईड्रोपावरले १ः१ हकप्रद शेयर जारी गर्ने
शेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी माछापुच्छ्रे क्यापिटल लाई
वि.सं.२०८२ चैत १८ बुधवार ११:४८
shares

काठमाडौं । सुपरमाई हाईड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ। कम्पनीले बोनस शेयरपछि कायम भएको चुक्ता पुँजीको आधारमा १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने योजना अघि बढाएको हो।
कम्पनीको सञ्चालक समितिको मिति २०८२ चैत १७ गते बसेको १३४औं बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको जनाएको छ। सोही निर्णयअनुसार हकप्रद शेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई दिइएको छ।
काठमाडौं महानगरपालिका–११, सुन्धारामा केन्द्रीय कार्यालय रहेको उक्त क्यापिटल कम्पनीले हकप्रद शेयर निष्काशन प्रक्रियालाई अगाडि बढाउनेछ। यससम्बन्धी जानकारी कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई गराइसकेको छ।
इलाममा ७.८ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गर्दै आएको सुपरमाईले पूँजी संरचना मजबुत बनाउने र भावी विस्तारका योजनालाई सघाउने उद्देश्यसहित हकप्रद शेयर ल्याउन लागेको बुझिएको छ।
यस निर्णयबारे नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा विद्युत नियमन आयोगलाई समेत जानकारी गराइएको कम्पनीले जनाएको छ।



















