मेटलाइफ फाउन्डेशनद्वारा विश्वव्यापी सहयोग कार्यक्रम सम्बोधन गर्न अनुदान प्रदान
वि.सं.२०८२ चैत २६ बिहीवार १३:४८
shares

काठमाडौं, २६ चैत । मेटलाइफ फाउन्डेशन ले आफ्नो ‘कम्युनिटी इम्प्याक्ट ग्रान्ट प्रोग्रामअन्तर्गत नेपालसहित विश्वका विभिन्न देशका गैर–नाफामुखी संस्थाहरूलाई कुल ६।५ मिलियन अमेरिकी डलर अनुदान प्रदान गर्ने घोषणा गरेको छ। यस कार्यक्रममार्फत समुदायका आधारभूत आवश्यकताहरू सम्बोधन गर्ने संस्थाहरूलाई सहयोग गरिनेछ।
सन् २०२३ मा सुरु भई २०२५ मा विश्वव्यापी रूपमा विस्तार गरिएको यस कार्यक्रमले खाद्य सुरक्षा, मानसिक स्वास्थ्य तथा समग्र कल्याण, वातावरणीय दिगोपन र सशक्त समुदाय निर्माणमा केन्द्रित परियोजनाहरूलाई प्राथमिकता दिएको छ। यस वर्ष विश्वभरका १०० भन्दा बढी संस्थाहरूलाई अनुदान प्रदान गरिएको छ, जसमा नेपालका दुई संस्था पनि समावेश छन्।
सोलुखुम्बुमा कार्यरत सोलुचामको ‘बाके’ परियोजनालाई दुई वर्षका लागि १,१०,००० अमेरिकी डलर अनुदान प्रदान गरिएको छ। यस परियोजनामार्फत ३,००० भन्दा बढी व्यक्तिहरूलाई फोहोर व्यवस्थापन, वृक्षारोपण तथा पानी, सरसफाइ र स्वच्छता सम्बन्धी तालिम प्रदान गरिनेछ।
त्यस्तै, सोसेक नेपालको ‘सेफ’ कार्यक्रमका लागि दुई वर्षका लागि १,९०,००० अमेरिकी डलर सहयोग प्रदान गरिएको छ। यस कार्यक्रमले किसान, युवा र साना व्यवसायहरूलाई लक्षित गर्दै सुधारिएको कृषि अभ्यास, सीप विकास, आर्थिक दिगोपन तथा स्वास्थ्य सेवाको एकीकरणमार्फत दीर्घकालीन खाद्य सुरक्षा सुदृढ गर्ने लक्ष्य राखेको छ।
मेटलाइफ फाउन्डेशनकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत टिया होजेस ले यस कार्यक्रममार्फत समुदायको समग्र कल्याण सुधार गर्न सहयोग पुग्ने बताए। उनले भने, “हामी व्यक्तिहरू र परिवारहरूलाई चुनौती पार गर्न र अझ स्थिर तथा सक्षम बन्न सहयोग गरिरहेका छौं।”
अघिल्ला वर्षहरूझैं यस वर्ष पनि मेटलाइफका कर्मचारीहरूले अनुदान छनोट प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै विभिन्न संस्थाहरूबाट प्राप्त आवेदनहरूको समीक्षा गरेका थिए। कार्यक्रम सुरु भएदेखि हालसम्म २०७ संस्थाहरूलाई ९ मिलियन अमेरिकी डलरभन्दा बढी अनुदान प्रदान गरिएको छ, जसबाट अमेरिका, एशिया, ल्याटिन अमेरिका, युरोप र मध्यपूर्वका १।६ मिलियनभन्दा बढी मानिस लाभान्वित भएका छन्।
यो कार्यक्रम मेटलाइफ र यसको फाउन्डेशनको समावेशी आर्थिक अवसर विस्तार, आर्थिक स्वास्थ्य प्रवर्द्धन तथा समुदायलाई सशक्त र दिगो बनाउने दीर्घकालीन प्रतिबद्धताको महत्वपूर्ण हिस्सा मानिएको छ।















