Dhulikhel Eco Banner new

सुधारको ‘एन्टिबायोटिक’, अर्थतन्त्रमा साइड इफेक्ट

975
shares

करिब एक महिनाअघि मेरो छोरालाई अचानक घाँटी दुख्ने समस्या देखियो। सामान्य रुघाखोकी होला भन्ने सोचे पनि समस्या बढ्दै गएपछि अस्पताल लैजानुपर्‍यो। परीक्षणपछि चिकित्सकले टन्सिलाइटिस भएको पुष्टि गरे। त्यसपछि उहाँले औषधिको सूची तयार गर्नुभयो, जसमा टन्सिलको उपचारका लागि मुख्य एन्टिबायोटिकसँगै ग्यास्ट्रिक, ज्वरो नियन्त्रण गर्ने औषधि र भिटामिनसमेत समावेश थिए।

औषधिको सूची हेर्दा सुरुमा म अलमलमा परेँ। घाँटीको समस्या हुँदा किन यति धेरै औषधि चाहियो भन्ने जिज्ञासा स्वाभाविक थियो। मैले चिकित्सकलाई सोधेँ—घाँटी दुखेको हो, तर यहाँ त पेटको औषधि, ज्वरोको औषधि र भिटामिनसमेत किन? चिकित्सकले सहज रूपमा जवाफ दिनुभयो—मुख्य रोग टन्सिल भए पनि त्यसको उपचारमा प्रयोग हुने औषधिले अन्य असर पार्न सक्छ। पेटमा समस्या नआओस् भनेर ग्यास्ट्रिकको औषधि, ज्वरो नियन्त्रण गर्न अर्को औषधि, र शरीर कमजोर नहोस् भनेर भिटामिन आवश्यक हुन्छ।

त्यो अनुभवले एउटा महत्वपूर्ण कुरा बुझायो—उपचार केवल रोग निको पार्ने प्रक्रियामा सीमित हुँदैन, त्यसले ल्याउने साइड इफेक्टलाई पनि सँगसँगै व्यवस्थापन गर्नुपर्छ।

यही सन्दर्भ अहिलेको सरकारी नीति र अर्थतन्त्रसँग पनि मिल्दोजुल्दो देखिन्छ। पछिल्लो समय सरकारले सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र अनियमितताविरुद्ध कडा कदम चाल्ने अभियानलाई तीव्र बनाएको छ। यी कदमहरू देशको दीर्घकालीन समस्या समाधान गर्ने उद्देश्यले अघि बढाइएका हुन्, जसलाई ‘मुख्य रोगको उपचार’ का रूपमा लिन सकिन्छ।

तर, यी सुधारात्मक प्रयाससँगै केही क्षेत्रहरूमा नकारात्मक असर पनि देखिन थालेको छ। विशेषगरी सेयर बजारमा लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ। बजारमा अनिश्चितता बढेको छ, कारोबार रकम घटेको छ, र लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन्। यस अवस्थालाई कतिपयले सुधारको ‘साइड इफेक्ट’ का रूपमा व्याख्या गरिरहेका छन्।

अर्थतन्त्रमा कडा सुधारात्मक कदम चाल्दा छोटो अवधिमा यस्ता असर देखिनु असामान्य होइन। तर, यस्ता असरलाई व्यवस्थापन नगर्दा समस्या झन् गहिरिन सक्छ। जसरी मेरो छोराको उपचारमा एन्टिबायोटिकसँगै अन्य औषधि आवश्यक थियो, त्यस्तै सरकारका नीतिमा पनि सन्तुलन आवश्यक हुन्छ।

सुशासन र नियन्त्रणसँगै लगानीकर्ताको मनोबल बढाउने, व्यवसायमैत्री वातावरण निर्माण गर्ने, र पूँजी बजारलाई स्थिरता दिने नीतिहरूलाई पनि समान प्राथमिकता दिनुपर्छ। यदि यी पक्षलाई बेवास्ता गरियो भने, मुख्य समस्या समाधान हुँदै गर्दा नयाँ समस्या अझ ठूलो रूपमा देखा पर्न सक्छ।

यसैले, अहिलेको अवस्थामा सरकारले सुधारका कदमलाई निरन्तरता दिँदै त्यसबाट उत्पन्न हुने साइड इफेक्टलाई पनि सँगसँगै सम्बोधन गर्नुपर्ने आवश्यकता देखिएको छ। दीर्घकालीन सुधारका लागि सन्तुलित नीति अपरिहार्य हुने विश्लेषकहरूको निष्कर्ष छ।

नोट:
लेखक सुवासचन्द्र ढुंगाना शेयर बजार र अर्थतन्त्रका ज्ञाता हुन्।