Dhulikhel Eco Banner new

आजदेखि हरेक शनिबार असनमा सवारी साधन निषेध, कहाँ गर्ने पार्किङ ?

1.24K
shares

काठमाडौं, ५ वैशाख । काठमाडौं महानगरपालिकाले राजधानीको ऐतिहासिक तथा सांस्कृतिक केन्द्र असन क्षेत्रको मौलिकता संरक्षण गर्ने उद्देश्यले ‘भेहिकल फ्री असन’ कार्यक्रम आजदेखि औपचारिक रूपमा सुरु गरेको छ। वैशाख ५ गते शनिबारदेखि लागू गरिएको यस कार्यक्रमअन्तर्गत हरेक शनिबार असन क्षेत्रमा सवारी साधन प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

महानगरपालिकाका अनुसार असन प्रवेश गर्ने प्रमुख नाकाहरू—जमल (कमलाक्षी), भोटाहिटी, महाबौद्ध र इन्द्रचोकबाट सवारी साधनलाई रोक लगाइएको छ। असन आउने आगन्तुकहरूका लागि धरहराको भूमिगत पार्किङ, जमल बहाल र दरबार हाईस्कुल परिसरमा पार्किङको व्यवस्था गरिएको छ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अब हरेक शनिबार असनमा सवारीको भीडभाड नहुने र त्यसको सट्टा सांस्कृतिक गतिविधिहरू सञ्चालन गरिने जानकारी दिए। उनका अनुसार असन क्षेत्रमा रैथाने ज्ञान, सीप तथा परम्परागत कलाको प्रदर्शनी गरिनुका साथै स्थानीय बाजागाजा, गायन र नृत्य कार्यक्रमहरू आयोजना गरिनेछन्। साथै, परम्परागत व्यापारिक क्रियाकलाप र आयुर्वेदिक औषधिको प्रवर्द्धनमा पनि जोड दिइनेछ।

वडा नं. २७ को नेतृत्व तथा स्थानीय क्लबहरूको सक्रियतामा सुरु गरिएको यस अभियानले असन क्षेत्रमा वायु प्रदूषण घटाउने र पैदल यात्रु—विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकका लागि सहज वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

यसै अवसरमा महानगरपालिकाले असनसहित महानगरका ८ विभिन्न स्थानमा ‘वाटर एटीएम’ सेवा पनि सञ्चालनमा ल्याएको छ। महानगरपालिका र उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा जडान गरिएका यी एटीएममार्फत सर्वसाधारणले निःशुल्क रूपमा शुद्ध पिउने पानी प्राप्त गर्नेछन्।