अप्रिलमा नेपालमा १ लाख ७ हजारभन्दा बढी पर्यटक, आगमनमा हल्का गिरावट
वि.सं.२०८३ वैशाख २१ सोमवार १५:३४
shares

काठमाडौं, २१ वैशाख । सन् २०२६ को अप्रिल महिनामा नेपालमा १ लाख ७ हजार ९३४ विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा पर्यटक आगमनमा केही कमी आएको देखिएको छ।
क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसिया (सार्क) बाट सबैभन्दा धेरै ३३ हजार ४३२ पर्यटक आएका छन्, जुन कुल आगमनको ३१ प्रतिशत हो। त्यसपछि अन्य एशियाली मुलुकबाट २६ हजार ७२६, युरोपबाट २१ हजार ९८८, ओसिनियाबाट ५ हजार ८९८, अमेरिकाबाट २ हजार ५१८, पश्चिम एसियाबाट १ हजार ६९७ र अफ्रिकाबाट ३१५ पर्यटक नेपाल आएका छन्। अन्य मुलुकबाट १५ हजार ३६० पर्यटक भित्रिएका छन्।
देशगत आधारमा भारत सबैभन्दा ठूलो स्रोत बजारका रूपमा रहेको छ, जहाँबाट १५ हजार १९६ पर्यटक आएका छन्। दोस्रो स्थानमा चीन बाट ११ हजार ७२२ र तेस्रोमा बंगलादेश बाट ५ हजार २३१ पर्यटक नेपाल आएका छन्।
तथ्यांकले नेपालको पर्यटन बजार एकल स्रोतमा निर्भर नभई बहुस्रोततर्फ विस्तार हुँदै गएको संकेत गरेको छ। यद्यपि सन् २०२५ को अप्रिलमा १ लाख १६ हजार ४९० पर्यटक भित्रिएकोमा यस वर्ष केही गिरावट देखिएको हो। कोरोना महामारीअघि सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३९९ पर्यटक भित्रिएका थिए।
पछिल्लो समय पश्चिम एसियामा बढ्दो द्वन्द्व, हवाई पहुँचमा अवरोध तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनमा असर परेकाले पर्यटक आगमनमा कमी आएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

















