मेगा बैंकका सीईओ पाण्डे पक्राउमा बैंकिङ क्षेत्रको आपत्ति, थुनाबाहिरै राख्न माग
वि.सं.२०८३ वैशाख ३१ बिहीवार १५:३५
shares

काठमाडौं, ३१ वैशाख । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति बैंकिङ क्षेत्रका चार प्रमुख छाता संगठनले आपत्ति जनाएका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार पाण्डेलाई नियन्त्रणमा लिएपछि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै पाण्डेलाई थुनाबाहिरै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन्।
कर्जा असुली गर्नु बैंकको नियमित प्रक्रिया र प्रमुख कार्यकारी अधिकृतको दायित्वभित्र पर्ने भएकाले सोही कार्यका आधारमा बैंक नेतृत्वलाई पक्राउ गर्नु उचित नभएको संघहरूको भनाइ छ। संघहरूले यस्तो घटनाले बैंकिङ क्षेत्रको साखमा असर पर्नुका साथै वित्तीय स्थायित्वमा समेत नकारात्मक प्रभाव पर्न सक्ने चेतावनी दिएका छन्।















