Dhulikhel Eco Banner new

हिमालयन पावरको ५० प्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

377
shares

हिमालयन पावर पार्टनर लिमिटेड (एचपीपीएल) ले निष्काशन गरेको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख १७ गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको थियो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बराबर हकप्रद शेयर जारी गरेको हो । यसअनुसार हाल कायम १ कित्ता शेयर बराबर ०.५ कित्ताका दरले नयाँ शेयर निष्काशन गरिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको हो ।

यसबाट कम्पनीले कुल ५३ करोड २७ लाख रुपैयाँभन्दा बढी पूँजी संकलन गर्ने लक्ष्य राखेको छ । हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले चैत १० गते बुक क्लोज गरेको थियो । त्यसैले चैत ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयर–एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने बताइएको छ ।

हकप्रद शेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले ग्लोबल आइएमई बैंकका विभिन्न शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै, सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदनको सुविधा पनि उपलब्ध रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६ करोड रुपैयाँभन्दा बढी रहेको छ । हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी बढेर करिब १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रदबाट उठ्ने रकम विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको सहवित्तीयकरण कर्जा भुक्तानीमा प्रयोग गर्ने जनाएको छ ।