सेन्ट्रल एक्सचेञ्ज काउन्टरको मनिचेञ्जर लाइसेन्स खारेज
वि.सं.२०८३ जेठ ६ बुधवार १०:५६
shares

नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयले कास्कीको पोखरा–६ मा सञ्चालित सेन्ट्रल एक्सचेञ्ज काउन्टर प्रालिको मनिचेञ्जर इजाजतपत्र खारेज गरेको छ । राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै विदेशी मुद्रा खरिद कारोबारका लागि अनुमति प्राप्त उक्त कम्पनीको लाइसेन्स रद्द गरिएको जानकारी दिएको हो ।
राष्ट्र बैंकका अनुसार कम्पनीले आफ्नो कारोबार बन्द गर्ने निर्णय गर्दै स्वेच्छिक रूपमा इजाजतपत्र खारेजीका लागि निवेदन दिएको थियो । सोही निवेदनका आधारमा ‘नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७’ अनुसार लाइसेन्स खारेज गरिएको जनाएको छ ।
वैशाख ३० गतेको निर्णयअनुसार अब उक्त संस्थाले परिवर्त्य विदेशी मुद्रा खरिदसम्बन्धी कुनै पनि कारोबार गर्न नपाउने भएको छ । राष्ट्र बैंकले मनिचेञ्जर व्यवसाय सञ्चालन गर्ने सबै संस्थालाई प्रचलित कानुन र विनियमावलीअनुसार मात्रै कारोबार गर्न समेत निर्देशन दिएको छ ।
















