रिलायबल समृद्धि योजना–२ मा आवेदनको चाप, आजै बन्द हुने
वि.सं.२०८३ जेठ ८ शुक्रवार ०७:४१
shares

रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड ले सार्वजनिक निष्काशनमा ल्याएको ‘रिलायबल समृद्धि योजना–२’ मा लगानीकर्ताको आकर्षण देखिएको छ। मागभन्दा बढी आवेदन परेपछि उक्त सामूहिक लगानी कोषको इकाई बिक्री आज बैंकिङ समयपछि बन्द हुने भएको हो।
क्यापिटलले वैशाख २९ गतेदेखि बिक्री खुला गरेको यो योजना जेठ १२ गतेसम्म खुला रहने तालिका थियो। तर, सुरुवाती दिनदेखि नै आवेदनको चाप बढेपछि निष्काशन अवधि छोट्याइएको हो।
१० वर्ष अवधिको बन्दमुखी प्रकृतिको यस योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँका दरले कुल १० करोड इकाई निष्काशन गरिएको छ। यसमार्फत एक अर्ब रुपैयाँ बराबरको कोष खडा गर्न लागिएको हो।
कुल इकाईमध्ये केही हिस्सा कोष प्रवर्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र योजना व्यवस्थापकका लागि सुरक्षित गरिएको छ भने बाँकी इकाई सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय तथा ‘मेरो सेयर’ प्रणालीमार्फत पनि दिन सकिनेछ।
















