Dhulikhel Eco Banner new

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द हटाउन नेपाल मेडिकल काउन्सिलको निर्देशन

1.22K
shares

काठमाडौं, ८ जेठ । नेपाल मेडिकल काउन्सिलले कानुनविपरीत नामको अगाडि ‘डाक्टर’ शब्द प्रयोग गर्ने स्वास्थ्यकर्मी तथा व्यक्तिलाई १५ दिनभित्र उक्त उपाधि हटाउन निर्देशन दिएको छ।

काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेले शुक्रबार जारी गरेको सूचनामा विभिन्न विधाका स्वास्थ्यकर्मी तथा अन्य व्यक्तिले नियमविपरीत रूपमा नामको अगाडि ‘डाक्टर’ शब्द प्रयोग गरिरहेको पाइएको उल्लेख गर्दै त्यस्तो कार्य तत्काल रोक्न आग्रह गरिएको छ।

काउन्सिलका अनुसार नेपालमा आधुनिक चिकित्सा प्रणालीअन्तर्गत बिरामीको उपचार गर्ने, परामर्श दिने तथा नामको अगाडि ‘डाक्टर रचिकित्सक’ पद प्रयोग गर्ने कानुनी अधिकार नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्रै छ। परिषद् ऐनअनुसार चिकित्सक उपाधि प्राप्त नगरेका, अन्य परिषद्मा दर्ता भएका वा दर्ता नभएका कुनै पनि स्वास्थ्यकर्मी तथा व्यक्तिले ‘डाक्टर’ शब्द प्रयोग गर्न नपाइने स्पष्ट पारिएको छ।

काउन्सिलले आधिकारिक कागजात, प्रेस्क्रिप्सन प्याड, क्लिनिकका साइनबोर्ड, भिजिटिङ कार्ड तथा सामाजिक सञ्जाललगायत सबै माध्यमबाट अवैध रूपमा प्रयोग गरिएको ‘डाक्टर’ शब्द तत्काल हटाउन निर्देशन दिएको छ।

सूचनामा काउन्सिलमा दर्ता भएका चिकित्सकबाहेक अन्य व्यक्तिले ‘डाक्टर’ उपाधि प्रयोग गरी आधुनिक चिकित्साको भ्रम सिर्जना गरेमा वा आधुनिक औषधि सिफारिस गरेको पाइएमा नेपाल मेडिकल काउन्सिल ऐनअनुसार तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने उल्लेख गरिएको छ।

त्यस्तै, स्वदेश वा विदेशका विश्वविद्यालयबाट प्रमाणपत्रमा ‘डाक्टर’ शब्द उल्लेख भएको शैक्षिक उपाधि प्राप्त गरेकै आधारमा स्वतन्त्र रूपमा चिकित्सकीय अभ्यास गर्ने अनुमति स्वतः प्राप्त नहुने पनि काउन्सिलले स्पष्ट पारेको छ।