उपकार लघुवित्तको साधारण सभा सम्पन्न, हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
वि.सं.२०८३ जेठ ११ सोमवार ११:३९
shares

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा २०८३ जेठ १० गते कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको संस्थाले जनाएको छ । सो अवधिको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू समेत स्वीकृत गरिएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकमा PRSH & Associates लाई नियुक्त गर्दै पारिश्रमिक निर्धारण गर्ने निर्णय पनि सभाले गरेको छ ।
सभाले अन्य वित्तीय संस्थासँग मर्जर, एक्विजिसन वा प्राप्तिसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
यसैगरी, संस्थापक समूहबाट आरती पौडेल र मुक्तीराम पन्थीलाई सञ्चालकका रूपमा अनुमोदन गरिएको छ । साथै, संस्थाको पूँजी वृद्धि गर्न हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको छ ।















