Dhulikhel Eco Banner new

दश महिनामा दुई तिहाइ मात्र, नेपालगन्ज भन्सारको लक्ष्य टाढै

1.76K
shares

नेपालगन्ज — आर्थिक वर्षको समाप्तिमा अब केवल दुई महिना बाँकी छन्, तर नेपालगन्ज भन्सार कार्यालयको ढुकुटीमा वार्षिक लक्ष्यको एक तिहाइभन्दा बढी रकम अझै भित्रिन सकेको छैन।

भन्सार प्रमुख जनार्दन पौडेलले दिएको जानकारी अनुसार चालु आव २०८२/८३ मा कार्यालयको वार्षिक राजस्व लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार तोकिएको थियो। तर वैशाख मसान्तसम्म पुग्दा जम्मा रु १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार मात्र संकलन हुन सकेको छ, जुन वार्षिक लक्ष्यको ६८.२ प्रतिशत हो। अब जेठ र असारमा मात्र रु सात अर्ब ८० करोडभन्दा बढी उठाउनुपर्ने चुनौती कार्यालयसामु छ।

यस आवको मासिक उपलब्धि हेर्दा एउटा महिना पनि लक्ष्य नाघेको देखिँदैन। साउनमा ७४, भदौमा ७०, असोजमा ८८, कात्तिकमा ७२, मङ्सिरमा ८३, पुसमा ८३ र माघमा ८८ प्रतिशत मात्र राजस्व उठ्यो। चैतमा भने ९८.३७ प्रतिशत पुगेर लक्ष्यको नजिक पुगिएको थियो, तर वैशाखमा फेरि ८५.३८ प्रतिशतमा खुम्चियो।

अघिल्ला वर्षहरूको अभिलेख पल्टाउँदा लक्ष्य पूरा नहुनु नेपालगन्ज भन्सारका लागि नयाँ कुरा होइन। आव २०८१/८२ मा वार्षिक लक्ष्यको ७४.६४ प्रतिशत र त्यसभन्दा अघिल्लो आवमा ६३.३५ प्रतिशत मात्र राजस्व संकलन भएको थियो। यस वर्षको उपलब्धि गत दुई वर्षको तुलनामा केही सुधारिएको देखिए पनि वार्षिक लक्ष्यदेखि अझै निकै टाढा छ।

जमुनाहा नाकामा एकीकृत जाँचचौकी सञ्चालनमा आएपछि आयातनिर्यात बढ्ने र राजस्व वृद्धि हुने अपेक्षा राखिएको थियो। तर प्रमुख पौडेल स्वीकार गर्छन् — त्यो आशा अहिलेसम्म पूरा भएको छैन र लक्ष्यभन्दा कम राजस्व उठ्ने क्रम रोकिएको छैन।

भन्सार विज्ञहरूका अनुसार आयात संरचनाको कमजोरी, सीमापारि हुने अनौपचारिक व्यापार र नाका व्यवस्थापनमा देखिएका खाँचोहरू नटारिँदासम्म यो अवस्था सुध्रिने सम्भावना कम छ। आव सकिन दुई महिना मात्र बाँकी रहेकाले नेपालगन्ज भन्सारका लागि यो अन्तिम खण्ड कति निर्णायक बन्छ, त्यो आउने दिनहरूले नै स्पष्ट पार्नेछन्।