Dhulikhel Eco Banner new

नेपाल मोबाइल वितरक संघ गण्डकी प्रदेशको अध्यक्षमा सुशील कुमार गुरुङ निर्विरोध निर्वाचित

936
shares

काठमाडौं, २४ जेठ । पर्यटकीय नगरी पोखराको रमणीय स्थल रुपाकोट रिसोर्टमा नेपाल मोबाइल वितरक संघ गण्डकी प्रदेशको नवौँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनले आगामी दुई वर्षका लागि सुशील कुमार गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

संघका निवर्तमान अध्यक्ष श्री मनोहर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनको उद्घाटन प्रमुख अतिथि नेपाल मोबाइल वितरक संघका केन्द्रीय अध्यक्ष रघु त्रिपाठीले गरेका थिए । अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष त्रिपाठीले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गरेका थिए। उनले समग्र मोबाइल व्यवसायी र वितरकहरूको हक, हित र अधिकारका लागि दृढ भएर काम गर्न निर्देशन दिदै बजारलाई अझ व्यवस्थित र मर्यादित बनाउन प्रादेशिक कमिटीको भूमिका महत्त्वपूर्ण हुने कुरामा जोड दिए।

मन्तव्यका क्रममा अध्यक्ष त्रिपाठीले अवैध र भन्सार छली भित्रिने मोबाइल फोनहरूको बिक्रीवितरण नियन्त्रणका लागि सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (MDMS) लाई पूर्ण र प्रभावकारी रूपमा लागू गर्नुपर्ने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए। अवैध फोनका कारण राज्यले ठूलो राजस्व गुमाउनु परेको र वैध व्यवसायीहरू मारमा परेको उल्लेख गर्दै उनले एमडीएमएसको कडा कार्यान्वयनका लागि संघले निरन्तर दबाब दिने स्पष्ट पारे।

कार्यक्रममा विशिष्ट अतिथि तथा संघका पूर्व अध्यक्ष दिनेश चुल्याद्योले गण्डकी प्रदेश कमिटीले हालसम्म गरेका कार्यहरूको उच्च प्रशंसा गरे। उनले गण्डकी प्रदेश सधैँ व्यावसायिक एकता र अनुशासनमा उदाहरणीय रहेको बताउँदै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।

​अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा श्री सुनील श्रेष्ठ, उपाध्यक्षमा श्री पुरुषोत्तम पौडेल, सचिवमा श्री केशव पराजुली, सहसचिवमा श्री दिलीप केसी र कोषाध्यक्षमा श्री तारानाथ आचार्य चयन भएका छन्। यसैगरी सदस्यहरूमा श्री अर्जुन गिरी, श्री विनोद केसी, श्री आस्विन ढुङ्गाना, श्री सुदीप कँडेल र श्री जीवन खत्री निर्वाचित भएका छन् ।