Dhulikhel Eco Banner new

भारतमा डिजिटल बिद्रोह : के हो कक्रोज पार्टी ?

637
shares

काठमाडौं, २४ जेठ । भारतमा यतिबेला एउटा अनौठो नामको राजनीतिक आन्दोलन चर्चामा छ— कक्रोज जनता पार्टी ।

नाम सुन्दा मजाक जस्तो लाग्न सक्छ । तर लाखौं युवालाई आकर्षित गरिरहेको यो अभियान अहिले सडकदेखि सामाजिक सञ्जालसम्म चर्चाको विषय बनेको छ।

कक्रोज जनता पार्टी कुनै परम्परागत राजनीतिक दल होइन। यसको न त दशकौं पुरानो संगठन छ, न त ठूला नेताहरूको लामो सूची । बरु यसको जन्म नै असन्तुष्टि, व्यंग्य र सामाजिक सञ्जालबाट भएको हो ।

युवाहरूलाई “कक्रोज“ अर्थात् तिलचट्टासँग तुलना गरिएको भनाइपछि सुरु भएको यो अभियानले अपमानलाई नै आफ्नो पहिचान बनायो । उनीहरूको सन्देश स्पष्ट छ— यदि व्यवस्था र सत्ताले युवालाई कक्रोज ठान्छ भने हामी त्यही कक्रोजको परिचय लिएर आफ्नो आवाज बुलन्द गर्छौं ।

यहीँबाट सुरु हुन्छ यसको पहिलो रणनीति— अपमानलाई प्रतिरोधको हतियार बनाउने । दोस्रो रणनीति हो— युवाको निराशालाई राजनीतिक शक्तिमा रूपान्तरण गर्ने ।

बेरोजगारी, परीक्षा प्रणालीका समस्या, अवसरको अभाव र पुराना राजनीतिक दलहरूप्रतिको अविश्वासलाई कक्रोज पार्टीले आफ्नो मुख्य मुद्दा बनाएको छ । यसले युवाको दैनिक पीडालाई भाषणभन्दा बढी मिम, व्यंग्य र छोटा भिडियोमार्फत प्रस्तुत गरिरहेको छ ।

तेस्रो रणनीति हो— सामाजिक सञ्जाललाई मुख्य राजनीतिक मैदान बनाउने । परम्परागत दलहरू सभा, जुलुस र पार्टी कार्यालयमा केन्द्रित हुँदा कक्रोज पार्टी इन्स्टाग्राम, एक्स र युट्युबमा केन्द्रित देखिन्छ ।

यसका समर्थकहरू राजनीतिक कार्यकर्ताभन्दा बढी डिजिटल अभियानकर्ता जस्ता देखिन्छन् । चौथो रणनीति हो— व्यवस्थाविरुद्ध प्रतीकात्मक विद्रोह । सडक प्रदर्शनमा नाराबाजीभन्दा बढी व्यंग्यात्मक पोस्टर, पुस्तक र फूल बोकेर उपस्थित हुने शैली अपनाइएको छ ।

भारतको राजधानी दिल्लीमा शनिवार भएको कक्रोच जनता पार्टी (सीजेपी) को विरोध प्रदर्शन सकिएको छ । उक्त प्रदर्शनलाई मध्यनजर गर्दै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

ठट्टाको रूपमा स्थापित भएको भारतको सबैभन्दा ठूलो अनलाइन युवा अभियानमा सहभागी हुन सीजेपीका संस्थापक अभिजित दीपके अमेरिकाबाट शनिवार बिहान दिल्ली ओर्लिएर जन्तर मन्तर पुगेका थिए ।

प्रदर्शन सकिएपछि अभिजित दीपकेले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “आमाबुवालाई भेट्न घर जाँदैछु, उहाँहरूलाई अन्तिम पटक मैले भेटेको एक वर्षभन्दा बढी भइसकेको छ। विगत १५ दिनमा उहाँहरूले धेरै दुख भोगिसक्नुभयो र धम्कीहरूका कारण घर छोड्नुपर्‍यो। उहाँहरूलाई घर फर्काउनेछु ।

“तपाईँको जानकारीका लागि आजको प्रदर्शन केवल ट्रेलरमात्रै थियो। त्यति ठूलो सङ्ख्यामा उपस्थित भइदिनुभएकोमा धन्यवाद ।

यति सुनेपछि अब तपाईलाई लाग्दा यो कक्रोज पार्टी भनेको के हो ? यो कस्तो पार्टी हो ? कक्रोज पार्टी वास्तवमा कुनै परम्परागत राजनीतिक दल होइन । यो भारतमा २०२६ मा सामाजिक सञ्जालबाट सुरु भएको व्यंग्यात्मक र डिजिटल आन्दोलन हो ।

बेरोजगारी, सरकारी प्रणाली, राजनीतिक दलहरू र युवाप्रतिको राज्यको दृष्टिकोणमाथि व्यंग्य गर्न “कक्रोज जनता पार्टी“ नाम प्रयोग गरिएको हो । यसको नाम कक्रोज यानकी हामीले किचनमा देख्ने सांग्लाबाट आएको हो । भारतीय सर्वोच्च अदालतका एक न्यायाधीशले युवाहरूलाई “ककरोच“ सँग तुलना गरेको भनाइपछि सामाजिक सञ्जालमा विरोध र व्यंग्यको लहर चलेको थियो ।

त्यसैलाई आधार बनाएर केही युवाहरूले “हामी नै कक्रोज हौं“ भन्ने शैलीमा यो अभियान सुरु गरेका थिए । कक्रोज पार्टीको विशेषता भने सामाजिक सञ्जाल हो । यो सुरुमा इन्स्टाग्राम र एक्स (ट्विटर) केन्द्रित अभियान थियो । परम्परागत चुनावी राजनीतिक दलजस्तो संगठन होइन ।

व्यंग्य, मीम, डिजिटल आन्दोलन र युवाको असन्तुष्टि अभिव्यक्त गर्ने माध्यमको रूपमा विकसित भयो । छोटो समयमै लाखौं फलोअर जोडिएर भाइरल बनेको थियो ।

राजनीतिक दल भनिसकेपछि त्यो दलको विचार हुन्छ । यो पार्टीले बेरोजगारी, राजनीतिक भ्रष्टाचार, पुराना राजनीतिक दलहरूप्रतिको निराशा, युवा पुस्ताको आवाज बेवास्ता गरिएको अनुभूति जस्ता विषयलाई व्यंग्यात्मक ढंगले उठाउने गरेको देखिन्छ ।

नेपालमा चर्चा 

कक्रोज पार्टीको चर्चा भारतमा मात्रै नभएर नेपालमा पनि छ । नेपालमा पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले “कक्रोज पार्टी“ लाई पुराना राजनीतिक दलप्रतिको असन्तुष्टि र युवाको विद्रोही भावनाको प्रतीकका रूपमा चर्चा गर्न थालेका छन् । तर यसको प्रभाव भने नेपालमा परिसकेको छैन ।

बोरु नेपालमा भएको जेनजी बिद्रोहको नयाँ रुपका रुपमा भने यो पार्टीलाई लिन सकिन्छ । संक्षेपमा, कक्रोज पार्टी एउटा व्यंग्यात्मक डिजिटल राजनीतिक आन्दोलन हो, परम्परागत अर्थमा स्थापित राजनीतिक पार्टी होइन ।

इतिहासले देखाएको छ, कहिलेकाहीँ सामाजिक सञ्जालमा सुरु भएका व्यंग्यात्मक अभियानहरू पनि शक्तिशाली राजनीतिक आन्दोलनमा बदलिएका छन् ।

तर कक्रोज जनता पार्टी पनि त्यही बाटोमा अघि बढ्छ वा केही समयको डिजिटल लहरमै सीमित हुन्छ, त्यो भने समयले नै बताउनेछ ।

यति चाहिँ निश्चित छ— कक्रोज पार्टीले भारतको युवा पुस्तामा रहेको असन्तुष्टि र आक्रोशलाई राष्ट्रिय बहसको विषय बनाउन सफल भएको छ । (अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको सहयोगमा)