Dhulikhel Eco Banner new

निर्यातमा भारतको कडाइपछि संकटमा नेपाली चिया उद्योग, सूर्योदयका ५३ उद्योग बन्द हुँदै

884
shares

काठमाडौं, ३१ जेठ । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । ५३ उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आगामी १ असारदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ ।

संस्थाका अनुसार भारतीय बजारमा पुगेको तीन लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र छ भने उद्योगमा सात लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ ।
उद्योगीहरूका अनुसार किसानबाट खरिद गरिएको हरियोपत्ती प्रशोधन गरी तयार पारिएको चिया बिक्री हुन नसकेपछि उद्योग सञ्चालन नै असम्भव बनेको छ। भण्डारण क्षमता पूर्ण रूपमा भरिएपछि उत्पादन निरन्तर राख्न नसकिएको हो ।

भारतले १ मे २०२६ देखि नेपालबाट आयात हुने चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेको छ । यसअनुसार प्रत्येक गाडीको चिया छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने, प्रतिवेदन आउन २० दिनभन्दा बढी लाग्ने र नतिजा नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ । परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता छ ।

उद्योग बन्द हुँदा हजारौँ किसान प्रभावित हुनेछन् । एसोसिएसनका अनुसार सूर्योदय नगरपालिकामा २ हजार ९९५ चिया किसान छन् । यहाँ ३३ हजार ६५५ रोपनी क्षेत्रफलमा चियाखेती हुँदै आएको छ, जहाँबाट वार्षिक २ करोड किलो हरियोपत्ती उत्पादन हुन्छ । किसान भन्छन् ‘उद्योग बन्द भयो भने आम्दानी नै रोकिन्छ, परिवार कसरी चलाउने ? हाम्रो त रोजिरोटी हराउँछ’, किसानहरु गुनासो पोख्छन् ‘उद्योग बन्द भएपछि हाम्रो हरियोपत्ती बिक्दैन । अब कसरी बाँच्ने भन्ने चिन्ता बढ्यो ।’

सूर्योदय नगरपालिकाले भारतमा रोकिएको नेपाली चिया र निर्यात प्रक्रिया सहज बनाउन सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने माग गरेको छ।

नगरपालिकाका अनुसार, परीक्षण ढिलाइ र कडाइका कारण गुणस्तरीय चिया भारतीय गोदाममै बिग्रिने जोखिम बढेको छ। निर्यातमा देखिएको अवरोधले नेपालकै प्रमुख नगदे बालीमध्ये एक चिया उद्योग संकटमा पुगेको छ। अब यसको समाधानका लागि सरकारी कूटनीतिक पहल नै निर्णायक हुने देखिन्छ।