वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?
वि.सं.२०८३ जेठ ३१ आइतवार १३:०६
shares

काठमाडौं, ३१ जेठ । वाणिज्य बैंकहरूले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आउँदो महिनाका लागि पछिल्लो महिनाको असार मसान्तभित्रै ब्याजदर प्रस्ताव गर्नुपर्ने राष्ट्र बैंकको नियमअनुसार २० वटै वाणिज्य बैंकले आइतबार नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
सार्वजनिक ब्याजदरअनुसार आगामी असारका लागि अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँचवटा बैंकले थप घटाएका छन् । बैंकमा निरन्तर निक्षेप बढ्दै गएको तर सोहीअनुसार लगानी हुन नसक्दा बैंकरू तनावमा छन् । कुल निक्षेप ८० खर्ब १७ अर्ब रुपैयाँ नाघ्दैगर्दा लगानी ५९ खर्ब १५ अर्ब रुपैयाँ बराबर हुन सकेको छ । ठूलो लगानीयोग्य पुँजी बैंकको भल्टमै रहने अवस्थाबीच बैंकहरूमाथि ब्याजदर घटाउने दबाब परेको हो ।
बैंकहरूद्वारा सार्वजनिक नयाँ ब्याजदरअनुसार असारका लागि एनआईसी एसिया, एनएमबी, प्राइम कमर्सियल बैंक, हिमालयन र स्टान्डर्ड चार्टर्ड बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । निक्षेपको फ्लो बढ्दैगर्दा थप लगानीको संकट हुने देखिएकाले यी बैंकहरूले ब्याजदर घटाएका देखिन्छ ।
तथापि, १५ वटा बैंकहरूले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् । यसो गर्दा पनि निक्षेपकर्ताले अहिलेको समयमा बैंकमा पैसा (निक्षेप) राख्दा बढीमा ४.७५ प्रतिशतसम्म ब्याज पाउने स्थिति छ ।
राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंकले निक्षेपमा समान ४.७५ प्रतिशत ब्याजदर प्रदान गर्ने प्रस्ताव गरेका छन् । यस्तै, प्रभु बैंक र नविल बैंकले समान ४.५५ प्रतिशत ब्याजदरको घोषणा गरेका छन् । बाँकी अरु वाणिज्य बैंकहरूले निक्षेपमा ४.५ प्रतिशतभन्दा बढी ब्याजदर दिन नसक्ने जनाएका छन् ।















