Dhulikhel Eco Banner new

काठमाडौँका १२८ स्थान डुबानको जोखिममा

897
shares

काठमाडौं, ३१ जेठ । काठमाडौँ महानगरपालिकामो यस वर्षको मनसुनमा १२८ स्थानमा डुबानको जोखिम रहेकोे छ । महानगरका अनुसार डुबानका कारण करिब ८ हजार ३१५ परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार बागमती र विष्णुमती नदी आसपासका तल्लो भेगहरू बढी जोखिममा छन् । वडा नम्बर १४ सबैभन्दा जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ ।

यसका साथै वडा नम्बर १३, १५, २९, १०, १६, २६, ३२ र १२ मा पनि डुबानको उच्च जोखिम रहेमा छन् । डुबान हुने स्थानका आधारमा वडा नम्बर ३० मा २१ स्थान, तथा वडा नम्बर ४ र ३२ मा १०–१० स्थान जोखिममा रहेका छन् ।

प्रभावित परिवारको हिसाबले वडा नम्बर १६ सबैभन्दा बढी जोखिममा देखिएको छ, जहाँ करिब १ हजार ६ सय परिवार प्रभावित हुन सक्ने अनुमान छ । वडा नम्बर २६ मा १ हजार २५५, वडा नम्बर ४ मा ९५५ र वडा नम्बर ३ मा ९५० परिवार प्रभावित हुन सक्ने जनाइएको छ ।

डुबानको जोखिमलाई मध्यनजर गर्दै महानगरले मनसुनपूर्व तयारी योजना कार्यान्वयनमा ल्याएको छ । योजनाअन्तर्गत वडास्तरीय विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय, दमकल, एम्बुलेन्स तथा आकस्मिक उद्धारका स्रोत–साधन तयारी अवस्थामा राखिएको जनाइएको छ ।

मनसुन सुरु भएसँगै महानगरले उच्च सतर्कता अपनाउन र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ ।