Dhulikhel Eco Banner new

सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजको आईपीओमा मागभन्दा ४४ गुणा बढी आवेदन

741
shares

काठमाडौँ, ३ असार । उत्पादन तथा प्रशोधन समूहको आईपीओमा लगानीकर्ताको आकर्षण अलि बढी नै देखिन्छ । दोस्रो बजारमा यी समूहका कम्पनीको शेयरमूल्य उच्च रहेकालेनै प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण उच्च देखिएको हो । पछिल्लो समय उत्पादन तथा प्रशोधन समूह अन्तर्गतको सर्वोत्तम पेन्ट्सको आईपीओ निष्कासन हुँदा अन्तिम दिनसम्म २८ लाख ९७ हजार १२५ जनाले आवेदन दिएका छन् ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक गरेको तथ्याङ्कलाई हेर्दा अन्तिम दिनसम्म यी आवेदकहरुबाट ३ करोड १० लाख ८० हजार २१० कित्ता शेयर खरीद माग भएको हो । जुन निष्कासन कित्ताभन्दा ४४ गुणा बढी खरीद माग हुन्छ । कम्पनीले अन्तिम चरणमा जेठ २८ गतेदेखि असार २ गतेसम्म थप सर्वसाधारणका लागि ७ लाख ५ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको हो । २८ लाख ९७ हजारभन्दा बढी आवेदनहरुमध्ये भाग्यमानी ७० हजार ५५० जना आवेदकहरुले मात्र कम्पनीको १० कित्ताका दरले आईपीओ प्राप्त गर्नेछन् । २८ लाख २६ हजारभन्दा बढी आवेदकहरुको हात भने खाली हुनेछ ।

यस कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएकोमा यस वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ८५ हजार कित्ता, सामूहिक लगानीकोषका लागि ४२ हजार ५०० कित्ता र कर्मचारीहरूको लागि १७ हजार कित्ता शेयर बाँडफाँट गरिसकेको छ ।

यो कम्पनी पेन्ट उत्पादन कम्पनी हो । कम्पनीले बाहिरी तथा भित्रि वालका इमल्सन तथा इनामेल पेन्टहरू विक्री वितरण गर्दै आएको छ । कैलाली जिल्लामा उद्योग सञ्चालनमा रहेको कम्पनीले अत्याधुनिक पेन्ट ल्याब स्थापना गरी प्रत्येक वर्ष आफ्नो कुल आम्दानीको केही हिस्सा अनुसन्धान तथा विकासमा खर्च गरेको बताएको छ । जसले गर्दा उत्पादित पेन्टको गुणस्तमार एकरुपता कायम भएको भनाई कम्पनीको छ । यस कम्पनीमा सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजको ९ करोड २७ लाख रुपैयाँभन्दा बढी लगानी रहेको छ । कम्पनी व्यापार विस्तारको चरणमा रहेकाले आगामी दिनमा सकारात्मक प्रतिफल हुने अपेक्षा कम्पनीले गरेको छ ।