Dhulikhel Eco Banner new

लघुवित्त क्षेत्र सुधारोन्मुख, जोखिम भने अझै कायम स् सीईओ उप्रेती

637
shares

संगिता घोरासैनी

काठमाडौं,७ असार । लघुवित्त क्षेत्रमा पछिल्लो समय सुधार देखिए पनि जोखिम पूर्ण रूपमा हटिनसकेको स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कृष्ण उप्रेतीले बताएका छन्।

केटिएम भ्वाइससँगको कुराकानीमा उप्रेतीले लघुवित्त संस्थाहरूको अवस्था सामान्य रूपमा सञ्चालन भइरहेको र खराब कर्जा ९एनपीएल० करिब ७ प्रतिशतको हाराहारीमा रहेको जानकारी दिए। उनका अनुसार क्षेत्र पहिलेको तुलनामा केही सुधारिएको भए पनि चुनौतीहरू अझै बाँकी छन्।

उनले लघुवित्तविरोधी आन्दोलनका कारण केही समय क्षेत्र प्रभावित बनेको स्मरण गर्दै हाल ती गतिविधि मत्थर हुँदै गएको बताए। आन्दोलनको प्रभाव पूर्ण रूपमा समाप्त नभए पनि सदस्य तथा ग्राहकहरूमा ऋण भुक्तानी गर्ने प्रवृत्ति विस्तारै बढ्दै गएको उनको भनाइ छ।

ग्राहकसँगको सम्बन्ध सुदृढ बनाउन संस्था पुराना तथा नियमित ग्राहकहरूसँग प्रत्यक्ष संवाद र भेटघाटमा केन्द्रित रहेको उप्रेतीले बताए। ग्राहकका समस्या बुझ्दै विश्वासको वातावरण निर्माण गर्न प्रयास भइरहेको उनले उल्लेख गरे।

कर्जा सूचना केन्द्रहरू सक्रिय बन्दै जाँदा ऋणीसम्बन्धी विवरण विश्लेषण गर्न सहज भएको र यसले जोखिम व्यवस्थापनमा सहयोग पुगेको उनको भनाइ छ। यसबाट दोहोरो कर्जा तथा अस्वस्थ ऋण प्रवाह नियन्त्रण गर्न पनि मद्दत पुगेको उनले बताए।

उप्रेतीका अनुसार लघुवित्त क्षेत्र सुधारको दिशामा अघि बढिरहेको छ। यद्यपि दिगो स्थायित्वका लागि प्रभावकारी जोखिम व्यवस्थापन, कर्जा निगरानी र ग्राहकसँगको विश्वास अभिवृद्धिमा थप ध्यान दिन आवश्यक रहेको उनले बताए।