राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
वि.सं.२०८३ असार ८ सोमवार १७:१४
shares

काठमाडौं, ८ असार । राहदानी छपाइ प्रकरणमा ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला परेको छ ।
छपाइको ठेक्का पाउने जर्मन कम्पनी भेरिडोस र मुल्हबाउरले पेस्की बापत १ अर्ब भुक्तानी लिएको अख्तियारले गरेको अनुसन्धानबाट खुलेको छ ।
मुल्हबाउरले १ अर्ब ५५ करोडको प्याकेज र भेरिडोसले ६ अर्ब ५५ करोडको ठेक्का पाएका थिए ।
आयोगले मुद्दा दायर अघि ६ जना सहसचिवसँग बयान लिएको थियो । यसैगरी अनुसन्धान अधिकृतहरुले पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र पूर्व सचिव एवम् नेपालका लागि बेल्जियमका राजदूत सेवा लम्सालसँग पनि बयान लिएको थियो ।
आरजु राणा देउवा परराष्ट्रमन्त्री हुँदा विद्युतीय राहदानी छपाइको ठेक्का स्वीकृत भएको थियो । जर्मन कम्पनी भेरिडोस र मुल्हबाउरले ‘मिलेमतो’मा दुई वटा प्याकेजको ठेक्का लिएको आशङ्कामा अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
भेरिडोसका नेपाली एजेन्ट सिद्धार्थ थापा फरार छन् । मुल्हबाउरका नेपाली एजेन्ट मुनिन्द्रराज मल्ललाई आयोगले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा राहदानी प्रकरणमा करिब ८ अर्ब हिनामिना भएको निष्कर्ष निकालिएको छ ।

















